विकास निर्माणको काम नहुँदा पेट्रोलियम पदार्थको आयात १३ अर्बले घट्यो

0
Shares

विकास निर्माणको काम नहुँदा पेट्रोलियम पदार्थको आयात १३ अर्ब रुपैयाँले घटेको छ । अर्थतन्त्रमा आएको सुस्तता र देशभित्र विकास निर्माणका काममा मन्दी छाउँदा समग्र पेट्रोलियम पदार्थको आयात घट्न पुगेको हो ।

चालु आथिक वर्ष (२०८०/८१) को नौ महिना अवधिमा २ खर्ब १० अर्ब १० करोड ३६ लाख ५० हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ(डिजेल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धन) आयात भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १३ अर्ब रुपैयाँले कम हो ।

गत आर्थिक वर्ष (२०७९/८०) को सोही अवधिमा २ खर्ब २३ अर्ब १५ करोड ९४लाख ३ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

चालु आवमा पेट्रोलियम पदार्थ आयातबाट सरकारलाई ७८ अर्ब ८२ करोड ६२ लाख १४ हजार रुपैयाँ राजस्व संकलन भएकोे छ । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले ७५ अर्ब ५ करोड ४३ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आवको तुलनामा चनलु आवमा राजस्व संकलन ३ अर्ब ७७ करोड १८ लाख ३१ हजार रुपैयाँले बढी हो । आयातमा कमी आएपनि राजस्व संकलनमा भने वृद्धि भएको छ ।

भन्सार विभागका अनुसार नौ महिनामा १ खर्ब ३ अर्ब २२ करोड ८४ लाख १५ हजार रुपैयाँ बराबरको ९ लाख ८६ हजार ९५० किलो लिटर डिजेल आयात भएको छ। डिजेल आयातमा सरकारलाई ३९ अर्ब ९८ करोड १२ लाख ४२ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीको शिर्ष स्थानमा डिजेल पर्ने गरेको छ।

यस्तै, चालु आवको नौ महिनामा ५० अर्ब २५ करोड ३९ लाख १८ हजार रुपैयाँ बराबरको ५ लाख ६ हजार १५९ किलो लिटर पेट्रोल आयात भएको छ । जसवापत सरकारलाई १८ अर्ब ९५ करोड ४७ लाख १९ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।

यसैगरी, हवाई इन्धनमा १५ अर्ब ६१ करोड ३७ लाख रुपैयाँ बाहिरिएको छ । गत पाँच महिनाको अवधिमा १ लाख ४५ हजार ७२६ किलो लिटर हवाई इन्धन आएको छ । जसवापत सरकारलाई २ अर्ब २४ करोड ७ लाख २३ हजार राजस्व आएको छ ।

यता, एलपी ग्यासमा ४१ अर्ब ७६ करोड ४६ हजार रुपैयाँ बाहिरीएको विभागको तथ्यांकले देखाएको छ । नौ महिनामा ३९ करोड २३ लाख ६ हजार ३०२ किलो एलपी ग्यास आयात भएको हो । जसवापत सरकारलाई ७ अर्ब ६४ करोड ९५ लाख ३० हजार रुपैयाँ राजश्व सरकालाई बुझाइएको छ ।

भन्सार विभागका अनुसार नेपालले चैत महिनासम्ममा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने १ खर्ब १३ करोड ९४ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।