ग्रीन हाइड्रोजन परियोजनाहरुका लागि कन्सियस इनर्जी-केयू र उर्जा डेभेलपर्सको सहकार्य


काठमाडौं विश्वविद्यालय (केयू) को स्पिनअफ कम्पनी कन्सियस इनर्जी (Conscious Energy) ले नेपालमा ग्रीन हाइड्रोजन व्यावसायिक परियोजनाहरू अगाडि बढाउन उर्जा डेभलपर्स (Urja Developers) सँग रणनीतिक साझेदारीको घोषणा गरेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को दोस्रो दिन दुई कम्पनीबीच सम्झौता भएको हो ।

कन्सियस इनर्जी एक अनुसन्धान-उन्मुख परामर्श सेवा प्रदायकको रूपमा वि.स. २०८० मा स्थापित भएको थियो, जसले हरित ऊर्जा क्षेत्रमा लगानी गर्न, सञ्चालन गर्न र आफ्नो उपस्थिति बढाउन खोज्ने ग्राहकहरूलाई सेवा प्रदान गर्दछ ।

यस कम्पनीले काठमाडौं विश्वविद्यालयद्वारा प्रशासित एनर्जाइज नेपाल (EnergizeNepal) कार्यक्रम मार्फत प्रारम्भिक बीज कोष प्राप्त गरेको थियो, र हाल हरित ऊर्जा क्षेत्रमा अग्रगामी प्रयासहरूमा सक्रिय रूपमा संलग्न छ । यसको मिसनलाई अगाडि बढाउदैँ, ऊर्जा सम्मेलन २०२३ मा आदानप्रदान गरिएको समझदारी ज्ञापन मार्फत औपचारिक रूपमा कन्सियस इनर्जी र उर्जा डेभेलपर्सको बीचमा भएको सहकार्यले दिगो ऊर्जा पहलहरूप्रति प्रतिबद्धतालाई जोड दिन्छ ।

केयूको ग्रीन हाइड्रोजन ल्याबलाई प्रतिनिधित्व गर्दै कन्सियस इनर्जीले आफ्नो अनुसन्धान तथा विकास सम्बन्धी विशेषज्ञता योगदान गर्नेछ भने उर्जा डेभलपर्सले परिचालन सम्बन्धी अनुभव र लगानी योगदान दिनेछ । उर्जा डेभलपर्सले सेयरधनीका रूपमा कन्सियस इनर्जीमा प्रवेश गर्नेछ र यसलाई व्यावसायिक परियोजनाहरूमा ठुलो लगानी आकर्षित गर्ने सार्वजनिक कम्पनीमा विस्तार गरिनेछ । कन्सियस इनर्जी नेपालमा ग्रीन हाइड्रोजन व्यवसायको लागि ठूलो सार्वजनिक कम्पनीको रूपमा विकसित हुने भनी सहमति भएको छ । साझेदारीमा उल्लेखित विषयको तीन दिने “हिमालयन हाइड्रो एक्स्पो” मा प्रदर्शन भईरहेको छ, जहाँ कन्सियस इनर्जी र ऊर्जा डेभेलपर्सले संयुक्त स्टलबाट साझेदारी प्रदर्शन गरिरहेका छन् ।

कन्सियस इनर्जी स्पिनअफ कम्पनीहरु स्थापना गरी विश्वविद्यालयमा अध्ययन र विकास गरिएको ज्ञान र प्रविधि व्यवसायिक प्रयोजनको लागी हस्तानतरण गर्ने केयूको लक्ष्यको एक सफल उदाहरण हो । यस साझेदारीले नेपालको कुनै पनि निजी कम्पनीले विश्वविद्यालयबाट गरिएको अनुसन्धान निष्कर्षहरूको स्वामित्व लिन र त्यसलाई वास्तविक र ठूला व्यावसायिक परियोजनाहरूका लागि कार्यान्वयन गर्न अपनाउने अहिलेसम्मको सबैभन्दा ठूलो कदमलाई देखाउँछ। यस नयाँ साझेदारीबाट कन्सियस इनर्जीले नेपालमा ग्रीन हाइड्रोजन व्यवसाय प्रवर्द्धन गर्न लगानी आकर्षित गर्ने लक्ष्य राखेको छ ।

हिमालयन हाइड्रो एक्स्पोमा हुने संयुक्त स्टलले नेपालमा दिगो ऊर्जा समाधानका लागि वातावरण प्रवर्द्धन गर्ने कन्सियस इनर्जी र उर्जा डेभलपर्सले गरेका पहलहरूबारे थप जानकारी लिन सरोकारवालाहरूलाई मञ्च प्रदान गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।