बाह्य तथा आन्तरिक चुनौतीका बावजुद एशिया-प्यासिफिक क्षेत्रको आर्थिक वृद्धि बलियो: आइएमएफ

0
Shares

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले एशिया–प्यासिफिक क्षेत्रको क्षेत्रीय आर्थिक परिदृश्य सार्वजनिक गर्दै बाह्य तथा आन्तरिक चुनौतीका बावजुद पनि यस क्षेत्रको आर्थिक वृद्धि दर बलियो रहेको उल्लेख गरेको छ ।

एशिया क्षेत्रले सन् २०२३ मा विश्लेषकहरुको आकलनलाई पछि पार्दै ५ प्रतिशतको वृद्धिदर हासिल गरेको थियो । सन् २०२४ मा यस क्षेत्रले ४.५ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने आइएमएफको प्रक्षेपण छ । गत अक्टोबर महिनामा प्रकाशन भएको क्षेत्रीय परिदृश्यमा एसिया क्षेत्रले ४.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अनुमान आइएमएफले गरेको थियो । तर आन्तरिक तथा बाह्य चुनौतीको सामना गर्दै एशिया प्यासिफिक क्षेत्रको अर्थतन्त्र चलायमान हुँदा आइएमएफले आफ्नो प्रक्षेपण अक्टोबर महिनाको तुलनामा ०.३ प्रतिशतले बढाएको हो ।

उदीयमान राष्ट्रहरुमा आन्तरिक माग बढेसँगै अर्थतन्त्र चलायमान हुँदा यस क्षेत्रको आर्थिक वृद्धि दर बढेको छ । मुद्रास्फीति नियन्त्रण गर्न यस क्षेत्रका केन्द्रीय बैंकहरुले संकुचित मौद्रिक नीति अपनाएका थिए । जसकारण मुद्रास्फीति दर घट्दै गएको छ भने माग कायमै रहँदा वृद्धिदर समेत बढेको छ । यस्तै एसिया क्षेत्रका विकसित अर्थतन्त्रमा समेत मुद्रास्फीति दर नियन्त्रणमा आउँदा आर्थिक अवस्थामा सुधार आएको छ । सन् २०२४ मा एसिया क्षेत्रको विकसित अर्थतन्त्रको वृद्धि दर १.६ प्रतिशत रहने अनुमान आइएमएफले गरेको छ ।

एसिया क्षेत्रका उदीयमान राष्ट्रहरुमा सबैभन्दा धेरै वृद्धिदर भारतको रहेको छ । सन् २०२४ मा भारतको वृद्धि दर ६.८ प्रतिशत रहने र सन् २०२५ मा ६.५ प्रतिशत रहने उक्त प्रतिवेदनमा उल्लेख छ । यस्तै चीनको वृद्धि दर सन् २०२४ मा ४.६ प्रतिशत र सन् २०२५ मा ०.४ प्रतिशत विन्दुले घटेर ४.१ प्रतिशतमा खुम्चिने आइएमएफको प्रक्षेपण छ । चीनमा देखिएको रियल स्टेट संकटका कारण पछिल्लो वर्षमा चीनको अर्थतन्त्र प्रभावित बनेको छ । साथै चीनमा वृद्ध जनसङ्ख्या बढ्दै गएकाले सन् २०२५ मा आर्थिक वृद्धिदर खुम्चिने अनुमान छ ।

यस्तै सन् २०२४ मा जापानको आर्थिक वृद्धि दर ०.९ प्रतिशत रहने छ भने अष्ट्रेलियाको १.५ हुने प्रक्षेपण आइएमएफले गरेको छ । साथै प्यासिफिक क्षेत्रको यो वर्षको वृद्धि दर ४ प्रतिशत रहने छ ।

एशियाली अर्थतन्त्र लयमा फर्किँदै गर्दा मुद्रास्फीति नियन्त्रणमा आएता पनि चुनौतीहरु बाँकी नै रहेको आइएमएफको ठहर छ । चिनियाँ अर्थतन्त्रको कुल ३० प्रतिशत हिस्सा ओगटेको रियल स्टेट क्षेत्र चलायमान हुन नसक्दा त्यसले भावी समयमा समस्या निम्त्यान सक्नेछ भने मध्यपूर्व र पूर्वी युरोपमा चलिरहेको युद्ध थप भड्किएमा व्यापारमा समस्या आउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

साथै विकसित एशियाली राष्ट्रहरुमा देखिएको अवस्फितिको समस्याले जटिल रुप लिँदा ती देशको आर्थिक वृद्धि दरमा असर पर्ने र मुद्रास्फीति नियन्त्रणका लागि केन्द्रीय बैंकहरुले चालेको संकुचित मौद्रिक नीतिको प्रभाव अर्थतन्त्रमा पूर्ण रुपमा नदेखिएकाले आगामी समयमा त्यसको प्रभावले अर्थतन्त्रमा समस्या आउने देखिएको छ । यसका साथै पछिल्लो समयमा देखिएको भू–आर्थिक विभाजनले समेत अर्थतन्त्रलाई समस्यामा पार्न सक्ने आइएमएफको अनुमान छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।