इन्ड्राइभको सेवा नेपालमा आधिकारिक रूपमा शुरु, चालकबाट १० प्रतिशत कमिसन लिने


ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ । कम्पनीले औपचारिक रुपमा सेवा दिन थालेसँगै चालकबाट कमिसन लिन थालेको छ । यसअघि चालकबाट कमिसन नलिने कम्पनीले आजदेखि १० प्रतिशत कमिसन लिने इन्ड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार इन्ड्राइभले काठमाडौंका साथै पोखरा र चितवनमा सेवा सुरू गरेको छ । छिट्टै अन्य सहरमा सेवा सुरू गर्नुका साथै कुरियर र कार्गो सेवा पनि थाल्ने कम्पनीले जनाएको छ ।

यस्तै इनड्राइभले काठमाडौंमा ट्याक्सी, मोटरसाइकल, डेलिभरी, एक शहरदेखि अर्को शहर (सिटी टु सिटी राइड) सेवाहरू प्रदान गर्ने जनाएको छ । यसका साथै इनड्राइभ चढ्‍ने यात्रु र चालक दुवैले एक अर्काको रेटिङ र उनीहरूले गरेका यात्राका आधारमा कोसँग यात्रा गर्ने भनेर छान्न सक्‍नेछन् ।

यात्रुले सवारीको समयमा एपमा लाइभ राइडिङ विवरण सेयर गर्न मिल्‍ने र सेभ आवर सोल्स बटनकोसमेत सुविधा रहेको कम्पनीले जनाएको छ । यतिमात्रै नभएर अप्रत्याशित परिस्थिति आइपरेमा यात्रुले चाँडै सहयोग पनि लिन सक्‍ने कम्पनीले जनाएको छ ।

इनड्राइभले यात्रुका लागि बीमाको व्यवस्थाका लागि पनि प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको छ । कार्यक्रममा इनड्राभको एसिया प्यासिफिक कम्युनिकेसन्स प्रमुख पवित नन्दा आनन्दले आफूहरूका लागि नेपालको बजार अत्यन्तै महत्वपूर्ण भएको बताइन् ।

उनले भनिन्, ‘ हामीलाई नेपालको बजार अत्यन्तै राम्रो लागेको छ । त्यसकारण यहाँ हामीले अन्तर सहर सेवा, डेलिभरी सेवा, मोटरसाइकल र ट्याक्सी सेवामा अफिस नै स्थापना गरेका हौ। साथी यात्रुहरूको लागि पनि बीमाको प्रक्रिया अगाडि बढाइसकेका छौं। ‘ उनले नेपालीहरूलाई इनड्राइभले उद्यमीको रुपमा स्थापना गर्न समेत सहयोग पुग्‍ने दाबी गरिन् ।

दर्ता बिनै चलेपछि ट्राफिक प्रहरीले पछिल्लो समयमा इनड्राइभका राइडरहरूलाई रोक्ने र कारबाही गर्ने क्रम तीव्र बनाएको थियो । नेपालमा राइड सेयरिङलाई वैधानिकता दिनुपर्ने माग उठेको साढे ७ वर्ष बितिसकेको छ ।

पहिलो पटक २०७३ पुसमा नेपाली कम्पनी टुटलले मोटरसाइकल र ट्याक्सीमार्फत ‘राइड सेयरिङ’ सेवा सुरू गरेको थियो ।हालसम्म संघीय ऐनमा निजी सवारीले भाडा उठाएर यात्रु बोक्न पाउन व्यवस्था गरिएको छैन । तर, पनि सरकारले प्रविधिको प्रयोग भन्दै ‘राइड सेयरिङ’ सेवालाई प्रतिबन्ध लगाएको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।