यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व सङ्कलन


यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म ५१ करोड रुपैयाँ बढी राजश्व सङ्कलन गरेको छ । यातायात कार्यालयले चालु आब २०८०/८१ को हालसम्म विभिन्न राजश्व शीर्षकबाट ५१ करोड ७८ लाख ७७ हजार तीन सय ९१ रुपैयाँ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख नरेन्द्र शाहले जानकारी दिए ।

निमित्त प्रमुख शाहका अनुसार कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी ४० करोड २८ लाख ५२ हजार एक सय ७३ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट १९ हजार नौ सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ । चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १० करोड ६० लाख ७२ हजार नौ सय आठ रुपैयाँ, बाटो इजाजत, प्रदूषण र जाँच पासबाट ८३ लाख ५७ हजार ८५ रुपैयाँ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ४५ लाख छ हजार पाँच सय २५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

यस्तै चालु आवमा कार्यालयको बेरुजु रकम एक लाख १८ हजार आठ सय रुपैयाँ रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए । त्यसैगरी यातायात व्यवस्था कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा विभिन्न राजश्व शीर्षकबाट ६३ करोड ९४ लाख ३० हजार चार सय १४ रुपैयाँ राजश्व सङ्कलन गरेको उनले बताए ।

जस अन्तर्गत कार्यालयले सवारी साधन कर शीर्षकबाट सबैभन्दा बढी ४७ करोड १७ लाख ७२ हजार एक सय ४४ रुपैयाँ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्क शीर्षकबाट २० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । यस्तै चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १५ करोड ४२ लाख ७६ हजार सात सय २५ रुपैयाँ, बाटो इजाजत, प्रदूषण र जाँच पासबाट एक करोड २२ लाख छ हजार ५० रुपैयाँ र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट नौ लाख ९२ हजार १५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

यस आर्थिक वर्षमा बेरुजु रकम एक लाख ६३ हजार चार सय ८० रुपैयाँ रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए । यस्तै कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न राजश्व शीर्षकबाट ५५ करोड ३६ लाख ४६ हजार एक सय ९२ रुपैयाँ राजश्व सङ्कलन गरेको जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।