एशियन लाईफको हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

0
Shares

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।

कम्पनीको १६औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद सेयर अर्थात् १ः०.४२ अनुपातमा हकप्रद निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब पु¥याउन दिएको निर्देशन बमोजिम कम्पनीले सेयर लाभांश र हकप्रद निष्काशन मार्फत् चुक्ता पूँजी जुटाउने क्यापिटल प्लान अन्तर्गत हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत (१ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता) हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद शेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ पुग्नेछ ।

आ.व.०८०/०८१ को चैत्र मसान्त सम्ममा कूल ४१ अर्ब रुपैयाँभन्दा बढी जीवन बीमा कोष रहेको यस कम्पनीले बीमित र सेयरधनीलाई अधिकत्तम प्रतिफल प्रदान गर्नुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान दिन जलविद्युत आयोजना, पर्यटन व्यवसाय, हवाई उड्ययन सेवा, बैंक, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुमा समेत लगानी विविधिकरण गरेको छ ।

कम्पनीले आ.व.०८०/०८१ को चैत्र मसान्त सम्म प्रथम बीमाशुल्क १ अर्ब २० करोड ६१ लाख, नविकरण बीमा शुल्क ४ अर्ब ५७ करोड ९२ लाख गरी कुल ५ अर्ब ७८ करोड ५४ लाख बीमाशुल्क आर्जन गर्न सफल भएको छ । हाल यस कम्पनीले देशभर रहेका १३९ शाखा कार्यालयहरु र १ लाख १३ हजार अभिकर्ता मार्फत सर्वसाधारणको घरदैलोमै जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आईरहेकोे छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।