नेप्सेमा करेक्सन : कारोबार रकमसँगै सूचकमा गिरावट

0
Shares

बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ९.५४ अंक घटेर २०१७.९७ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।

करिब ६७ अंक बढेपछि बुधबार नेप्सेमा करेक्सन आएको हो । यसअघि बजार लगातार ४ दिनसम्म बढेको थियो ।

अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ५५ हजार ८६२ पटकको कारोबारमा ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँबराबरको ८४ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.४० प्रतिशत, व्यापार उपसमूहको परिसूचक १.१६ प्रतिशत र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१७ प्रतिशत बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशत घटेको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन माण्डु हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २३७ रुपयाँ ७० पैसा घटेर २ हजार १३९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन पिपुल्स पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको करिब ११ करोडको शेयर किनबेच भएको छ भने सांग्रिला डेभलपमेन्ट बैंकको करिब ८ करोडको शेयर कारोबार भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।