स्वदेशी उद्योगलाई मारेर ‘खुद निर्यातकर्ता’ बन्ने धुनमा विद्युत प्राधिकरण : परिसंघ

0
Shares

नेपालका उद्योगहरुमा लोडसेडिङ्ग यथावत राख्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति नेपाल उद्योग परिसंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको समाचार सञ्चार माध्यमहरुमा प्रकाशित भएका छन् । सरकारले स्वदेशी उद्योगहरुको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा चिन्तित भएको परिसंघले बताएको छ ।

‘हामीले विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दै आएका थियौं । तर, प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत आयात नै गरेन । जसको मारमा उद्योगहरु विगत तीन महिनाअघि देखि पर्दै आएका छन् । अहिले विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफुलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ । प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ।’ परिसंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरुको प्रबद्र्धनमा सहयोग गर्न परिसंघ आग्रह गरेको छ। साथै, उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध गराएर बचत रहेको विद्युत मात्रै निर्यात गर्न परिसंघले जोडदार माग गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।