प्रतिनिधिसभाबाट आगामी बजेट पारित, खर्च कटौतीका प्रस्ताव अस्वीकृत

0
Shares

प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित भएको छ। सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित गरेको हो।

सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।

प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो।

विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए।

यस्तै प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरुले राखेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ।

सभाको आजको बैठकमा ३१ जना सांसदले राखेको उक्त प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो।

विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमाथि सांसद प्रेम सुवाल, डा अमरेशकुमार सिंह, बद्रीप्रसाद पाण्डेय, रमा कोइराला, सञ्जयकुमार गौतम, अजयकुमार चौरसिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य, जीवन परियार, दीलेन्द्रप्रसाद बडू, बीना लामा, रुपा विक, ज्ञानबहादुर शाही र शान्ति विकले खर्च कटौतीको प्रस्ताव राखेका थिए।

बैठकले सांसद रोशन कार्की, नागिना यादव, तेजुलाल चौधरी, मैना कार्की, राजेन्द्र बजगाइँ, डा धवलशमशेर जबरा, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङ्देन, श्यामकुमार घिमिरे, बुद्धिमान तामाङ, हृदयराम थानी, उदयशमशेर राणा, प्रदीप पौडेल, चन्दा चौधरी, ध्रुवबहादुर प्रधान र पुष्पबहादुर शाहले राखेको खर्च कटौतीको प्रस्तावसमेत अस्वीकृत गरेको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।