एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा स्वीकृत, प्रधानमन्त्रीलाई थप आठ मन्त्रालयको कार्यभार

0
Shares

नेकपा (एमाले) बाट सरकारमा सहभागी आठ जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ । बुधबार राति एमालेका आठ जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा दिएका थिए ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आएको राजीनामा स्वीकृत गरी उनीहरुको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका थिए । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जो कुराको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा एमालेको तर्फबाट उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपन्क्षी विकासमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी, खानेपानीमा राजेन्द्रकुमार राई, र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती थिए ।

यसअघि पार्टी अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री प्रचण्डलाई पठाएका थिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २१ असार २०८१, बिहीबार  १६ : ३९ बजे