अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा पदभार ग्रहण

0
Shares

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन।

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट विजयी प्रतिनिधि सभा सांसद हुन। रुपन्देहीबाट पौडेल लगातार चार पटक सांसदमा निर्वाचित र्भका हुन।

गत निर्वाचनमा उनले २७ हजार एक सय ६५ मत प्राप्त गर्नुहुँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार सात सय ९५ मत प्राप्त गरेका थिए।

पौडेलको संसदीय यात्रा २०५१ सालबाट सुरु भएको हो । उनी २०५१ सालमा पाल्पाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य बनेका थिए।

पहिलो पटक पौडेल २०५४ सालमा युवा, खेलकुद तथा संस्कृति मन्त्री भएका थिए। २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जलस्रोतमन्त्री र झलनाथ खनालको नेतृत्वमा रक्षामन्त्रीको जिम्मेवारी पाएका थिए।

वि.सं. २०७२ को केपी शर्मा ओलीको नेतृत्व गठित सरकारमा उनी अर्थमन्त्री बनेका थिए।

पहिलो प्रतिनिधि सभा निर्वाचन २०७९ पश्चात् तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत पुस ११ गते पौडेल उपप्रधान तथा अर्थमन्त्री नियुक्त भएका थिए ।

यसबिच राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा माओवादी र एमालेसहितको सरकार गठनमा सहमति जुट्न सकेन । उक्त समय उपप्रधान तथा अर्थमन्त्री पौडेलसहित एमालेका आठ मन्त्रीसँगै २०७९ फागुन १५ गते राजीनामा दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।