नेपाल टेलिकमको मनसुन अफरमा आकर्षक प्याक तथा सुविधाहरु

0
Shares

नेपाल टेलिकमले साउन १ गतेदेखि लागू हुने गरी मनसुन अफर २०८१ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याउन लागेको हो ।

प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको १९९ रुपैयाँदेखिका कम्बो प्याकेजहरु उपलब्ध हुनेछन् । यस अन्तर्गत १९९ रुपैयाँमा २०० मिनेट अल–नेट भ्वाइस र २ जीबी डाटासहितको कम्बो १९९ प्याक सञ्चालनमा आउनेछ । सोही अन्तर्गत कम्पनीले २९९ रुपैयाँमा ३०० मिनेट अल–नेट भ्वाइस, ४ जीबी डाटा र २० अन–नेट एसएमएससहितको कम्बो २९९ प्याक र ४९९ रुपैयाँमा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डाटा र १०० अल–नेट एसएमएस सहितको कम्बो ४९९ प्याक उपलब्ध गराउनेछ ।

प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अनलिमिटेड प्याक अन्तर्गत ६९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डाटा र २०० अल–नेट एसएमएस सहितको सजिलो अनलिमिटेड ६९९ प्याक सञ्चालन हुनेछ ।

कम्पनीका अनुसार सजिलो अनलिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहकका लागि सुबिधा थप गरी उक्त प्याकहरुलाई अझै आकर्षक बनाइने छ, जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि ३० दिनको समयावधि रहनेछ ।

डाटा प्याक अन्तर्गत एक दिनदेखि २८ दिनसम्म समयावधि रहेका २९ देखि ९९९ रुपैयाँसम्मका एक जीबीदेखि १०० जीबीसम्म रिसोर्ससहितका बिभिन्न आकर्षक डाटा प्याकहरु उपलब्ध हुनेछन् । पोस्टपेडमा भने ३७३ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रुपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुनेछ ।

कम्पनीले अन–नेट अर्थात् कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेजहरु, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल–नेट प्याकेजहरुका साथै ४९ रुपैयाँमा एक दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा प्याकेज र ५९ रुपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस एवं ५ एमबीपीएस सम्मको अनलिमिटेड डाटा सहितको अनलिमिटेड नाइट कम्बो प्याक तथा १९९ रुपैयाँमा भ्वाइस तथा डाटा सुबिधा सहितको अनलिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराउने कम्पनीले बताएको छ ।

यसका साथै कम्बो प्याकेज, अनलिमिटेड प्याकेज लगायतका प्याकेज प्रयोगकर्ताका लागि रिसोर्स समाप्त भएको अवस्थामा सजिलै थप गर्न मिल्ने गरी सहुलियत दरमा एड अन प्याकेजहरु समेत सञ्चालन गरिने कम्पनीले बताएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।