आईपीओ भर्ने अवधि घट्यो, बुक बिल्डिङ्ग विधि समेत प्रयोगमा आउँदै

0
Shares

हालसम्म एक महिना आईपीओ भर्ने सुविधा उपभोग गर्दै आएका लगानीकर्तालाई अब साधारण शेयर भर्ने समय छोटिने भएको छ ।

पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लाई संशोधन गरी धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन हुने अवधि ३० दिनबाट घटाई १५ दिन कायम गरिएको छ।

संशोधित नियमावली फागुन १ गते देखि लागू हुने जनाएसँगै अब निष्काशन हुने सबै आईपीओको अवधि आधा घट्ने भएको हो।

पहिला कागजी रुपमा आवेदन गर्नुपर्ने व्यवस्था रहेकोले अधिकतम समय १ महिना राखिएकोमा प्रविधिको प्रयोग भएसँगै धितोपत्र निष्काशन खुला रहने अधिकतम अवधि आधा घटाइएको हो । छोटो अवधि भने निष्काशनको चार दिन नै यथावत रहेको छ।

यस्तै सार्वजनिक निष्काशन गर्दा अब बुक बिल्डिङ्ग विधि समेत प्रयोगमा ल्याउने व्यवस्था भएको छ । यसअघि अंकित मूल्य १ सय रुपैयाँ र प्रिमियम मूल्यमा नेटवर्थको दुई गुणासम्ममा शेयर जारी हुँदै आइरहेकोमा अब बुक बिल्डिङ्ग विधि समेत कार्यर्कान्वयनमा आउने भएको छ ।
यसैगरि सो नियमावलीमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाका संचालक तथा शेयरधनी कालो सूचीमा नरहेको हुनुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी सूचिकृत संगठित संस्थाको संचालक समितिबाट हकप्रद शेयर निष्काशन सम्बन्धि निर्णय भएको बढीमा दुई महिनाभित्र उक्त प्रस्ताव साधारण सभामा पेश गर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

सूचीकृत संगठित संस्थाका शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर दश प्रतिशत भन्दा कम नहुने गरी बिक्री प्रस्ताव मार्फत बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ साथै, संगठित संस्थाले विदेशी मुलुकको पूँजीबजारमा ऋणपत्र, डिबेञ्चर वा अन्य धितोपत्र विदेशी मुद्रामा जारी गर्न सक्ने व्यवस्था गरिएको छ।