खिम्तिमा साउनेदेखि स्वामित्व घट्ने भएपछि बुटवल पावरले अन्य आयोजनामा लगानी बढाउन थाल्यो

0
Shares

बुटबल पावर कम्पनी (BPCL) ले पछिल्लो समय धमाधम नयाँ आयोजनाहरुमा लगानी बढाउन थालेको छ। आगामी साउनदेखि खिम्ति आयोजनाको प्रवद्र्धक कम्पनी हिमाल पावरको स्वामित्व घटेर नेपाल विद्युत प्राधिकरणमा जाने भएपछि मुख्य आयस्रोत  खिम्ति आयोजनाबाट हुने आम्दानी घट्न नदिन वैकल्पिक रुपमा कम्पनीले नयाँ आयोजनाहरु निमार्णमा लगानी बढाउन थालेको हो।

१४० मेगावटको तल्लो मनाङ मस्याङ्दी आयोजनाको उत्पादन अनुमति पाएको र १०४ मेगावटको लागि विद्युत खरीद सम्झौताका लागि प्रकृया अगाडि बढाइएको जनाएको छ। यस्तै ८.५० मेगावटको लागि सर्भेक्षण अनुमति पाएको छ।

कम्पनीले ३० मेगावाट क्षमताको न्यादी हाइड्रोपावरको निमार्ण राम्रो गतिमा भैरहेको जनाउँदै विपिसीले चिनियाँ पार्टनरको साझेदारीमा मनाङ्ग मस्र्याङ्दी हाइड्रोइलेक्ट्रिक आयोजना समेत निमार्णको चरणमा रहेको उल्लेख गरेको छ। ३७.६ मेगावटको काबेली ए को निमार्ण भने निलम्बित भएको छ । 

मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बुटवल पावरले चालु आवको ६ महिना अवधिमा १३.२७ प्रतिशतले खुद नाफा बढाउँदै ८५ करोड ८८ लाख ६७ हजार रुपैयाँ कमाएको छ। कम्पनीको खुद नाफा १३.२७ प्रतिशत बढेपछि कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९३ पैसाले बढेर ३२ रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी २ अर्ब ६८ करोड ३८ लाख ८२ हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन नाफा २२.३६ प्रतिशतले वृद्धि भई ९० करोड १० लाख १२ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको मुख्य स्रोत विद्युत बिक्री आम्दानी बढ्दा सञ्चालन नाफासँगै खुद नाफा पनि बढेको हो। वित्तीय विवरणमा कम्पनीले मुद्दती निक्षेपमा राखेको रकम नयाँ आयोजनाहरुमा लगानी गर्दा उसको वित्तीय आम्दानी भने घटेको उल्लेख छ । मुद्दतीमा लगानी घटेसँगै कम्पनीको वित्तीय आम्दानी गत आवको यसै अवधिको तुलनामा ७ करोड १४ लाखले घटेर १ करोड ८९ लाखमा झरेको छ ।
यद्यपी कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी २ करोड ७ लाख बढेर ४० करोड ४७ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको अन्य आम्दानी अर्थात सहायक कम्पनीबाट प्राप्त हुने कमाई ५९ करोड ५३ लाख रहेकोमा १४ करोड ५९ लाख बढेर ७४ करोड १३ लाख रुपैयाँ कमाएको छ। आफ्ना सहायक कम्पनीहरु हिमाल पावर लिमिटेड, खुदी हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडबाट विपिसीले उक्त रकम आम्दानी गरेको हो । खिम्ति आयोजनाको प्रवद्र्धक हिमाल पावरबाट मात्रै ६० करोड रुपैयाँ आम्दानी गरेको छ।

जगेडा कोष ७ करोड २६ लाख बढेर ४ अर्ब २९ करोड ९७ लाख ७९ हजार रुपैयाँ कायम भएको कम्पनीको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०.२५ गुणा छ।