मेरोमाइक्रो फाइनान्सको नाफा ३६२.५९ %ले बढ्यो


मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ३६२.५९ प्रतिशतले बढेको छ । लघुवित्तको आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

यता, लघुवित्तको खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेर ८७ करोड ४८ लाख ४७ हजार रुपैयाँ पुगेको छ भने लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ३०.८८ प्रतिशतले बढेर ११ करोड ७८ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।

२०८० को चौथो त्रैमाससम्म १२ करोड ५४ लाख २० हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज २०८१ को चौथो त्रैमाससम्म आइपुग्दा १ करोड ९४ लाख ६९ हजार रुपैयाँ सीमित भएको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १५.८४ प्रतिशत बढेर ९९ करोड २९ लाख ४ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३५२.७४ प्रतिशत बढेर ३१ करोड ३१ लाख १७ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ५.८४ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६३ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ५३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.०८ गुणा रहेको छ।

लघुवित्तले सो अवधिसम्ममा १९ करोड ६२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी २.११ प्रतिशतले घटेर ११ अर्ब ७७ करोड ६३ लाख र कर्जा ०.४८ प्रतिशत घटेर १३ अर्ब ८५ करोड १ लाख रुपैयाँमा सिमित भएको छ।

असार मसान्तसम्म लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३२ करोड २० लाख रुपैयाँ छ । यसको वितरणयोग्य नाफा १९ करोड ६२ लाख ३१ हजार रुपैयाँ देखिएको छ । लघुवित्तको जगेडा कोषमा ७९ करोड ८९ लाख रुपैयाँ सञ्चित छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।