विद्युत वितरण प्रणाली स्तरोन्नति लागि युरोपेली बैंकबाट १२ अर्ब ४१ करोड ऋण

0
Shares

विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाको कार्यान्वयनका लागि युरोपेली लगानी बैङ्क बाट करीव १२ अर्ब ४१ करोड (१०० मिलियन युरो) बराबरको ऋण सहायता प्राप्त गर्ने सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतामा उल्लेखित प्रतिवद्धताको प्रभावकारिताका लागि नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय, अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह-सचिव श्रीकृष्ण नेपालले र यूरोपेली लगानी बैंकका तर्फबाट उक्त बैंकका डाइरेक्टर मारिया स बारागन र लिगल काउन्सेल बोर्जा ओक्जाङ्गोइटीले हस्ताक्षर गरी मेलमार्फत आदान-प्रदान गरिएको अर्थमन्त्रालयले जनाएको छ । हस्ताक्षरित सम्झौताको सक्कल प्रति दुवै पक्षलाई उपयुक्त हुने समयमा आदान प्रदान गरिने जनाइएको छ ।

नेपालको ५ नं., कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यहाँका जनताको विद्युतमा पहुँच बढाउने, विद्युत आपूर्तिको गुणस्तर एवम् दक्षता बढाउने र ऊर्जा व्यापारलाई सहजीकरण गर्ने उद्देश्य रहेको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजना सन् २०२३ को डिसेम्वर सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्ने प्रस्तुत आयोजना अन्तर्गत ३३/११ किलो भोल्टका सवस्टेसनहरु तथा ३३ किलो भोल्टका आपूर्ति लाईनहरु निर्माण गर्ने, ११ किलो भोल्टका आपूर्ति लाईनहरु, वितरण ट्रान्सफर्मरहरु र न्यून भोल्टेजका आपूर्ति लाईनहरु निर्माण गर्ने र आयोजनाको कार्यान्वयनमा सहयोग गर्ने क्षमता विकासका क्रियाकलापहरु सञ्चालन हुनेछन् ।

प्रस्तुत आयोजनामा नपुग हुने रकममध्ये ११२.३ मिलियन अमेरिकी डलर बराबरको ऋण सहयाता एशियाली पूर्वाधार लगानी बैंकबाट पनि सह-लगानीको रुपमा सम्मिश्रण गर्नका लागि वार्ता सम्पन्न भैसकेको अर्थमन्त्रालयले जनाएको छ ।