कर्जा प्रक्रिया सहज हुने आशाले शेयर कारोबारमा रेकर्ड

0
Shares

सरकारले यस अघि लागू गरेको कर्जा प्रक्रिया लगायतका केही नीतिगत व्यवस्थाहरु सहज बनाउने संकेत दिदा शेयर लगानीकर्ता समेत उत्साहीत हुँदा हालसम्मकै दोस्रो उच्च कारोबार भएको छ ।

सोमबार अर्थमन्त्री, राष्ट्र बैंकका अधिकारी, वाणिज्य बैंकहरुका प्रमुख कार्यकारीहरु लगायत सरोकारवाला निकायहरुकोसँगेको छलफलमा बैंकिङ् प्रणालीमा देखिएका समस्या समाधान गर्न तत्काल पहल थाल्ने निष्कर्ष आएपछि शेयर लगानीकर्ता समेत उत्साहीत भएका हुन् ।

सरकारले कर्जा लिंदा करचुक्ताको प्रमाणपत्र अनिवार्य हुनुपर्ने व्यवस्था हटाउनका साथै स्प्रेड दर गणनाको विधि लगायतका व्यवस्थाहरु परिमार्जन गर्ने संकेत गरेको छ । तरलताको अवस्था सहज बनाउनुका साथै कर्जा प्रणालीमा सुधार गर्ने अर्थमन्त्रीको प्रयासको प्रभावले सुधारउन्मुख बजारमा उछाल आएको हो ।

साथै आगामी मौद्रिक नीति मार्फत शेयर बजारका लागि समेत केही सकारात्मक सन्देशहरु आउने संकेत र विस्वास बढ्दा शेयर कारोबारमा उत्साह जागेको विश्लेषकहरु बताउँछन् । शेयर बजार निरन्तर उकालो लाग्दै बजारमा नयाँ नयाँ लगानीकर्ताको प्रवेशको क्रम समेत बढेको छ । जसले कारोबार रकम उच्च हुन पुगेको ब्रोकरहरु बताउँछन् ।

सोमबार नेप्सेमा १७५ कम्पनीको ६४ लाख ७४ हजार ७५० कित्ता शेयर २ अर्ब ६८ करोड ७५ लाख बराबरमा किनबेच भएको छ । यो कारोबार रकम हालसम्मकै दोस्रो उच्च हो  । यसअघि २०७३ साउन ११ गते हालसम्मकै सर्वा्धिक २ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो।

नेप्से सूचक ३४.२६ अंकले बढेर १३९८.२४ विन्दुमा पुगेको छ । कारोबार चलिरहँदा नेप्से सूचक एक समय १४०४ अंकसम्म पुगेको थियो ।सोमबार कायम नेप्सेको बिन्दु २०७५ बैशाख १२ गते पछिको उच्च बिन्दु हो । सो दिन नेप्से १ हजार ३८६ बिन्दुमा रहेको थियो।

यसदिन सबैभन्दा धेरै शिवम सिमेन्ट झण्डै १३ करोड बराबरको शेयर किनबेच भयो । शिखर इन्स्योरेन्स र हिमालयन डिष्टिलरीको पनि दश करोड बढीको किनबेच भयो ।