कोरोना भाइरसबाट विश्वभरि २२ हजारको ज्यान गायो, ५ लाख संक्रमित (अपडेट)

0
Shares

विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबार राती १० बजेसम्म विश्वका विभिन्न देशमा गरी २२ हजार ३४० जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि ५ लाख ३ हजार २०३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा १ लाख २१ हजार २२७ जना उपचारपछि घर फर्किएका छन् भने ३ लाख ५९ हजार ६३६ व्यक्ति हाल उपचाररत छन् । जसमध्ये पाँच प्रतिशत अर्थात १८ हजार १७१ को अवस्था चिन्ताजनक रहेको छ भने ९५ प्रतिशत अर्थात ३ लाख ४१ हजार ४६५ जनामा मध्यम अवस्था रहेको छ। कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९९ देशमा देखा परिसकेको छ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ।

कोरोना भाइरस सङ्क्रमणबाट इटालीमा सबैभन्दा धेरै ७ हजार ५०३ जनाको ज्यान गएको छ। यस्तै स्पेनमा ४ हजार १४५ जनाले ज्यान गुमाएका छन् । बिहीबार मात्र स्पेनमा ४९८ जनाले ज्यान गुमाएका छन्।

चीनमा ३ हजार २८७ जनाको मृत्यु भएको छ । इरान कोरोनाबाट मृत्यु हुने चौथौं ठूलो दशे बनेको छ। इरानमा यस रोगबाट २ हजार २३४, फ्रान्समा १ हजार ३३१ जना, अमेरिकामा १ हजार ८० जनाको मृत्यु भैसकेको छ।

यसैगरि बेलायतमा ४७७, नेदरल्याण्डमा ४३४, जर्मनी २३९ जना, बेल्जियम २२० जना, स्वीजरल्याण्ड १९१ जना, र दक्षिण कोरीयामा १३१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। बाँकी ९४ देशमा १०० भन्दा कम व्यक्ति यस रोगबाट मरेका छन् भने ९३ देशमा रोगको संक्रमण भएपनि हालसम्म मृत्यु भएको छैन।

बिहीबार मात्रै ३२ हजार २३५ नयाँ स्रक्रमित फेला परेका छन्। जसमा अमेरिकामा सबैभन्दा धेरै ६ हजार ८५५ जनामा यो स्रक्रमण देखा परेको छ। दोस्रो स्पेनमा ६ हजार ६८२ जना, जर्मनीमा ६ हजार ३२३, इरानमा २ हजार ३८९, बेल्जियममा १ हजार २९८ र नेदरल्याण्डमा १ हजार १९ जनामा नयाँ संक्रमण फेला परेको छ। बाँकी ८८ देशमा पनि १ हजारभन्दा कम संख्यामा रोगी फेला परेका छन्। पाँच देशमा १/१ जना थपिएका छन्।

कोरोना भाइरस सङ्क्रमणको आधारमा चीनमा सबैभन्दा धेरै ८१ हजार २८५ जनामा यो संक्रमण भएको पाइएको छ। यसैगरि अमेरिकामा ७५ हजार ६६ जनामा यो संक्रमण देखिँदा इटालीमा ७४ हजार ३८६ जना, स्पेनमा ५६ हजार १९७, जर्मनीमा ४३ हजार ६४६, इरानमा २९ हजार ४०६, फ्रान्समा २५ हजार २३३, स्वीजरल्याण्ड ११ हजार ७१२ र बेलायतमा ९ हजार ८४९ जना र दक्षिण कोरीयामा ९ हजार २४१ जनामा यो संक्रमण देखिएको छ।

बाँकी २४ देशमा १ हजारभभन्दा बढी संक्रमित भेटिएका छन् भने ६३ देशमा १ हजारभन्दा कम १०० भन्दा बढी संक्रमित रहेका छन्। १०० भन्दा कम संक्रमित हुने दशेको संख्या १०२ रहेको छ।

छिमेकी मुलुक भारतमा ७१९ जनामा यो संक्रमण भेटिएको छ । जसमध्ये ६२ जना नयाँ बिरामी भेटिएका हुन्। यस रोगबाट बिहीबार ४ सहित १६ जनाको मृत्यु भएको छ भने ४५ जना निको भएर घर फर्किएका छन्। अझैपनि ६५८ जनामा यो रोग रहेको छ।

नेपालमा कोरोना भाइरस सङ्क्रमण हुनेको संख्या ३ पुगेको छ। ३ मध्ये १ जनालाई यो रोग निको भैसकेको छ भने २ जनामा अझै बाँकी छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु भैसकेको नभएपनि यो रोगको फैलने शक्ति अत्याधिक रहेकाले बैलैमा सचेत हुन आवश्यक छ।