रमेश लम्सालको कविता- मेरा बाबाका बाले भन्नुहुन्थ्यो…

0
Shares

 

मेरा बाबाका बाले भन्नुहुन्थ्यो…

मेरा बाबाका बाले भन्नुहुन्थ्यो
अनिकालमा घरका भाँडा बज्छन्
र भन्छन् बिऊ जोगाउनु
रिसाएपछि प्रकृति
उठ्छन महामारी
त्यसैले त जिऊ जोगाउनु

सडक नाप्दै अनिकाल छल्न निस्केका मनहरु
राजमार्गको तिरै तिर प्याससँग थकाइ मारीरहेका छन्
लालाबाला बोकेका आमाहरु बगरै बगरै
अमेरिका खोज्न निस्केका कोलम्बस जस्ता छन् र
उनीहरु आफ्ना घर खोज्न हिडेका छन् ।

मेरा बाका बाले भन्नुहुन्थ्यो
रोम जलिरहँदा निरोले बासुरी बजाएको थियो
कहर छल्न हिडेका दाजुहरु यतिबेला
सिंहदरबारमा बसेको सर्वहाराका नायकलाई
सोध्दैछन् , मेरो नागरिकताको राष्ट्रियता कता हरायो ?

मेरा बाबाका बाले भन्नुहुन्थ्यो
अनिकालमा घरका भाँडा बज्छन्
र भन्छन् बिऊ जोगाउनु
रिसाएपछि प्रकृति उठ्छन महामारी
त्यसैले त जिऊ जोगाउनु

मानिसहरु भन्छन् ती भीड हुन,
जुन बहुराष्ट्रिय पूँजीवादको स्पोन्सरमा चटक देखाइरहेका छन्
ती ट्वीटरमा भडास पोख्छन् र मेरो गाथ गद्दी ताक्छन्
मेरा बाका आमाले भन्नुहुन्थो ठूलाको मुख नलाग्नु
तर, मैले दुस्साहस नै गरे
माफ पाँउ मैले भोट दिएको सरकार
तिम्ले अनागरिक बनाएका मान्छेहरुकै नाम लेख्छु,
तिम्ले सीमामा रोकेकाहरुकै आवाज बोल्छु ।

मेरा बाबाका बाले भन्नुहुन्थ्यो
अनिकालमा घरका भाँडा बज्छन्
र भन्छन् बिऊ जोगाउनु
रिसाएपछि प्रकृति उठ्छन महामारी
त्यसैले त जिऊ जोगाउनु ।

तिम्रा भडारेहरु अघाएका छन्
घर खोज्दै हिडनेका पैतलामा फोका उठे
जुत्ता च्यातिए, तुलुवा उप्किए
ती त सिलाउन सकिएला,
तर मेरा बाका बाले भने जस्तै
तिनका फाटेका मन कसले सिलाउला
प्रश्नहरु अनुत्तरित छन्
तर सिंहदरबारको मेरो नायक भन्छ
भोकै बस, घर नजाउ ।

भोकले रोग जित्दैन, शोकमा गीत फुर्दैन
मेरो देशका भडारेहरु भन्छन्
यो स्वतन्त्रताको बखान गर्ने समय होइन
त्यसेले तिमी भोकै बस घर नजाउ
स्वतन्त्रता खल्बलिन्छ ।