भारतमा देशभरीको तथ्यांक हेर्दा कुल जनसंख्या मध्ये प्रति लाखमा ७.९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार कुल सङ्क्रमित मध्ये ३९.६२ प्रतिशत विरामी सङ्क्रमण मुक्त भएका छन्।
“विश्वभरको तथ्यांक हेर्ने हो भने कुल जनसंख्याको प्रति लाख ६२ जना सङ्क्रमित भएको देखिएको छ,” जवकी भारतमा ७.९ प्रतिशतमा मात्रै देखिएको छ, मन्त्रालयका सहसचिव लभ अग्रवालले भने।
मन्त्रालयद्धारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले झण्डै ४० प्रतिशत सङ्क्रमित निको भएर घर फर्किनु अर्को सन्तोषजनक कुरा भएको पनि बताए ।
अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये २.९४ प्रतिशतलाई मात्रै अक्सीजन सहितको शैयामा राख्नु परेको र ३ प्रतिशतलाई आइसियुमा राख्नु परेको पनि उनले जानकारी दिए।
त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित मध्ये ०.४५ प्रतिशतलाई भने भेन्टीलेटरमा राखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सहसचिव अग्रवालले विश्वभरी प्रतिलाख ४.२ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको बताए। तर भारतमा भने प्रतिलाख ०.२ प्रतिशतको मात्रै मृत्यु भएको उनको भनाई छ ।
भारतमा बुधबार बेलुकासम्ममा एक लाख ११ हजार ७५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीन हजार ४३४ जनाको मृत्यु भएको छ ।
- भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित
भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भेटिएका हुन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ११ हजार ७५० जना पुगेको छ । त्यसैगरी भारतमा विगत २४ घण्टामा १५४ जनाको मृत्यु भएको छ ।
यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ४३४ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् । यहाँ कोरोना भाइरसबाट संक्रमित कूल व्यक्तिमध्ये ४५ हजार ४२२ जना अस्पतालहरुबाट डिस्चार्ज भइसकेका छन् भने ६२ हजार ८९४ जना उपचारका क्रममा रहेका छन् ।
प्रतिक्रिया