काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न बैंकहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग गरेका छन् । प्रभावित स्थानीयको उद्धार तथा आवश्यक राहत सामग्रीको लागि बैंकहरूले नगद सहयोग गरेका हुन् ।
कामना सेवा विकास बैंक लिमिटेडले बाढी प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापना कार्यका लागि कुल २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ तथा बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी उक्त रकम सहयोग गरिएको हो । बैंकले सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।
त्यसैगरी, कुमारी बैंक लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि कोषमा ३ करोड रुपैयाँ नगद सहयोग गरेको छ । सरकारको एकद्वार प्रणाली अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनालसहित उच्च अधिकारीहरूको टोलीले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
यस्तै, ग्लोबल आइएमई बैंक लिमिटेडले पनि भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
विपद् व्यवस्थापनमा आर्थिक पारदर्शिता र प्रभावकारिता कायम गर्ने उद्देश्यले सरकारले विपद्का लागि प्राप्त हुने सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत परिचालन गर्ने नीति लिएको छ । सोही नीतिअनुसार अर्थमन्त्री वाग्लेले निजी तथा संस्थागत क्षेत्रबाट प्राप्त हुने सहयोग रकम ग्रहण गरिरहेको अर्थ मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया