नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मतिले पारित

0
Shares

नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मतिले पारित भएको छ । कुल २५८ जनाको उपस्थिती रहेकोमा संसोधन प्रस्तावको पक्षमा २५८ जनाले नै मतदान गरेका छन् ।

प्रतिनिधिसभाका २७५ मध्ये उपस्थित भएका २५८ ले नै विधेयकको पक्षमा मतदान गरेका थिए।

प्रतिनिधिसभाको शनिबारको बैठकले उक्त विधेयक दुई तिहाई भन्दा बढी मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका थिए ।

भारतको अतिक्रमणमा परेका नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सासहितको निशान छाप संशोधन विधेयक संसदबाट सर्वसम्म पारित भएको हो।

कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फेले विधेयकमा दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

प्रस्तावमाथिको छलफल सकिएपछि नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ परित गरियोस् भन्ने प्रस्तावमाथि मतदान भएको थियो।

सरकारले सङ्घीय संसद्मा यही जेठ ९ गते संविधान संशोधन गर्न विधेयक दर्ता गरेकामा कानूनमन्त्री डा तुम्बाहाङ्फेले जेठ ११ गते प्रतिनिधिसभासमक्ष प्रस्तुत गरेका थिइन्। त्यसपछि सर्वसाधारणको जानकारीका लागि नेपालपत्रमा प्रकाशन गरिएको थियो ।

प्रतिनिधिसभाको जेठ २७ को बैठकमा मन्त्री डा तुम्बाहाङ्फेले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको थियो । सो स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदलाई ७२ घण्टाको समय उपलब्ध गराइएको थियो ।

संविधानमा उल्लेख भएअनुसार दुवै सदनबाट पारित विधेयकलाई सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुपर्नेछ । राष्ट्रपतिबाट १५ दिनभित्र उक्त विधेयक प्रमाणीकरण हुनेछ र सोही मितिदेखि संशोधित संविधान लागू हुनेछ ।

मन्त्रिपरिषद्ले जेठ ५ गते नेपालको उक्त भूभाग समेटेर अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्शा जारी गर्ने निर्णय गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जेठ ७ गते अद्यावधिक नक्शा सार्वजनिक गरेको थियो ।

यसरी भएको थियो मतदान :

मतदानको नतिजा सार्वजनिक गर्दा संसद भवनको यस्तो थियो वाताबरण