आज दश अन्तरराष्ट्रिय उडान, ९०० यात्रु नेपाल फर्किए

0
Shares

मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन १६ चार्टर्ड उडान भएका छन्।

अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ। अन्तरराष्ट्रिय उडानबाट मात्रै ९२१ यात्रु नेपाल फर्किएका छन्।

उनीहरुमध्ये अधिकांश विदेशमा अलपत्र परेर स्वदेश फर्किएका नेपाली हुन्। यसअघि यही असार ५ गते पनि एकैदिन अन्तरराष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएका थिए।

विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेका छन्। आज नेपाल एयरलाइन्सले सर्वाधिक चार, हिमालय एयरलाइन्सले दुई, जजीरा एयरले दुई र फ्लाइट दुबईले समान दुई उडान गरेका छन्।

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २४६ यात्रु र एक बच्चा ल्याएको छ। सोही एयरलाइन्सले कतारको दोहाबाट १४६ यात्रु र तीन बच्चा ल्याएको छ। दुबई र ढाकाबाट थप यात्रु ल्याउन निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। यस्तै हिमालय एयरलाइन्सले अबुधाबीबाट १५२ यात्रु र एक बच्चा, मलेसियाबाट २१ यात्रु ल्याएको छ।

जजीरा एयरले कुवेतबाट १६१ यात्रु र पाँच बच्चा ल्याएको छ भने सोही गन्तब्यबाट थप यात्रु ल्याउन जजीरा एयर त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ। त्यसैगरी फ्लाइट दुबईले १८४ यात्रु र पाँच बच्चा ल्याएको छ। सोही एयरलाइन्सले दुबईबाट कार्गो ल्याउन प्रस्थान गरेको बताइएको छ।

आन्तरिकतर्फ आज तारा एयरको लुक्लामा एक, मनाङ एयरको लुक्लामा तीन उडान भएका छन्। कैशाल एयरको सङ्खुवासभामा एक र बुद्ध एयरको एक लोकल उडान भएको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: ७ असार २०७७, आइतबार  २० : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।