बैंकहरुको नाफा जेठमा ५ अर्बले बढ्यो, ११ महिनामा कमाए ५४ अर्ब ४६ करोड

0
Shares

चालु आर्थिक वर्षको जेठ महिनामा वाणिज्य बैंकहरुको नाफा करिब ५ अर्बले बढेको छ । कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेको अवस्थामा बैंकहरुको कर्जा प्रवाह सुस्त रहेपनि नाफा भने अघिल्लो महिनाको तुलनामा साढे ९ प्रतिशत धेरै बढेको हो ।

चालु आर्थिक वर्षको ११ महिनासम्ममा २७ वाणिज्य बैंकहरुले ५४ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा चालु आर्थिक वर्षको बैशाख महिनाको तुलनामा ९.६७ प्रतिशतले धेरै हो ।

बैशाख महिनामा बैंकहरुले ४९ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा गरेका थिए । जेठ महिनामा मात्र बैंकहरुले करिब १४ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको ११ महिनासम्ममा २८ खर्ब १५ अर्ब रुपैयाँ कूल कर्जा प्रवाह गरेका बैंकहरुले जेठ महिनामा १४ अर्ब १४ करोड रुपैयाँले कर्जा बढाएर २८ खर्ब २९ अर्ब रुपैयाँ पुर्याएका छन् ।

अघिल्लो वर्षको तुलनामा भने नाफा घट्यो

बैंकहरुले चालु आर्थिक वर्षको बैंशाख महिनाको तुलनामा नाफा बढेको भएपनि गत आर्थिक वर्षको जेठ महिनाको तुलनामा भने नाफा घटेको छ ।

चालु आवको जेठ महिनामा बैंकहरुको नाफा गत आवको सोही अवधिको तुलनामा ३.९३ प्रतिशतले घटेको हो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले गत चैत ११ गते देखि जेठ अन्तिमसम्म लकडाउन गरेको थियो।

यो अवधिमा बैंकिङ क्षेत्रलाई अत्यावश्यक क्षेत्रको रुपमा राखेर सेवालाई निरन्तरता दिइएको थियो। बैंकहरुले प्रभावित ऋणीलाई ब्याजमा छुट तथा कर्जाको समय अवधि बढाइदिएको हुनाले कर्जा असुलीमा कमी आएको हो ।

लकडाउनका कारण परिपक्क भएको कर्जा तथा ब्याज रिकभरी गर्न नसक्दा त्यसको असर नाफामा परेको हो । तर, अन्य आर्थिक गतिविधि भने ठप्प नै रहेको अवस्थामा पनि बैंकहरुले बैशाखमा करिब साढे ४ अर्ब र जेठमा ४ अर्ब ८० करोड रुपैयाँ नाफा गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चैतमा ११ दिन पुर्ण सेवा दिएका बैंकहरुले सो महिनामा मात्र २ अर्ब ८४ करोड ८० लाख, बैशाखमा ४ अर्ब ४१ करोड र जेठमा ४ अर्ब ८० करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

तथ्यांकमा मात्रै बढ्यो नाफा

लकडाउनका कारण अर्थतन्त्र नै ठप्प भएपछि बैंकहरुको सेवा पनि निक्षेप लिने र भुक्तानी दिनेमा मात्र सीमित रह्यो । बैंकहरुको नाफा घट्नसक्ने विश्लेषण गरीरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले चैतमा भन्दा बैशाखमा र बैशाखको तुलनामा जेठमा बैंकहरुको नाफा वृद्धिदर बढेको जनाएको छ ।

बैंकहरुले बैशाख देखि निक्षेपमा दिने ब्याजदर घटाएका थिए भने कर्जाको ब्याजदर जेठ महिना देखि मात्र घटाउने अनौपचारिक सहमति समेत गरेको हुनाले नाफा वृद्धिमा कम असर पुगेको हुनसक्छ ।

तर, अहिले देखिएको नाफा बैंकलाई प्राप्ती नभैसकेको हुनाले एनएफआरएसको तथ्याङ्कको आधारमा नाफा बढ्यो भन्न नसकिने देखिन्छ ।

एनएफआरएसमा देखिएको नाफाबाट कर्मचारीलाई बोनस र सरकारलाइ कर मात्र तिर्न सकिने भएपनि लगानीकर्तालाई प्रतिफल दिन सकिन्न । जेठसम्ममा सबैभन्दा धेरै नाफा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले गरेको छ।

बैंकले यस अवधिसम्ममा ४ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ। बैंक यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने ३३ करोड रुपैयाँले थोरै हो। त्यसैगरी जेठसम्ममा सबैभन्दा थोरै नाफा गर्नेमा सिभिल बैंक रहेको छ। बैंकले यस अवधिसम्ममा ५२ करोड ७५ लाख रुपौयँ मात्र खुद नाफा गरेको छ।

प्रकाशित मिति: १९ असार २०७७, शुक्रबार  १७ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।