बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने बारेमा दुई महिना भित्र सुझाब दिनेगरी गठित अध्ययन समितिले ११ महिनापछि दर्जन समस्या देखाउँदै लाइसेन्स दिन सकिने प्रस्ताव गरेको छ ।
व्यवस्थापिका संसदको अर्थसमितिले पूँजी तथा मुद्रा बजारका विषयमा अध्ययन गर्न गठित उप–समितिले बजारका समस्या समाधान भन्दा पनि जिज्ञासाहरुको चाङ लगाएपछि यो बिषय झनै अन्योलग्रस्त हुने देखिएको छ । तीन देशको विदेश यात्रासहित ११ महिना लगाएर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको समितिले ठोस निर्णय सहितको प्रतिवदेन नदिदा तत्काल वाािणज्य बैंकका सहायक कम्पनीहरुले धितोपत्र दलाल अनुमतिपत्र नपाउने आँकलन सजिलै गर्न सकिन्छ ।

रामकुमारी झाक्री संयोजक रहेको उपसमितिले मंगलबार अर्थ समितिमा बुझाएको प्रतिवेदनमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिदाँ ११ प्रश्नको उत्तर खोजेर मात्र दिन उपयुक्त हुने सुझाब दिएको छ ।
बाणीज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलालको लाइसेन्स दिँदा सहायक कम्पनी र मुख्य कम्पनीबीचको अन्तर सम्बन्ध र शेयर कारोबारको सीमा के हुने भन्ने अन्योलता कायमै रहेको उपसिमितको भनाई छ ।
भित्री कारोबारलाई नियन्त्रण र निरुत्साहित गर्न कानूनी व्यवस्था पर्याप्त भए नभएको बारेमा पनि समितिले एकिन गर्न सकेको देखिदैन् । त्यस्तो कारोबार पहिचान गर्न बोर्ड र नेप्सेले अन्तर्राष्ट्रिय स्तरको स्वचालित बजार सुपरिवेक्षण प्रणालीको व्यवस्था भए नभएको ? वास्तविक समय अनुगमन गर्न आवश्यक संयन्त्र भए नभएको ? जिज्ञासा उपसमितिको छ ।
धितोपत्र बजार वास्तविक क्षेत्रको हिस्सा कति प्रतिशत हुनुपर्ने ? वाणिज्य बैंकका शाखाले सहायक कम्पनीको काम गर्ने वा सहायक कम्पनीका अलग शाखा देशव्यापी रुपमा सञ्चालन हुने ? भन्नेमा पनि स्पष्ट्र व्यवस्था हुन नसकेको समितिले बताएको छ।

यस्तै ओपन इन्ट्री पोलिसी अनुरुप लाइसेन्स दिँदा के हुन्छ ? पूर्ण स्वचालितमा जाँदा ब्रोकरको संखया घटाउनु वा बढाउनु के गर्नुपर्ने हो ? सेल साइड र बाइ साइड इन्फरमेशनको आधारमा दुवै तर्फका काम एउटै दलाल व्यवसायीले गर्ने वा नगर्ने र गर्ने भएमा त्यसको लागि फायर बालको व्यवस्था कसरी गर्ने भन्ने विषयमा प्रतिवेदनले प्रश्न उठाएको छ तर कुनै जवाफ दिएको छैन् । वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा नियामक निकाय नेपाल राष्ट्र बैंक र बोर्ड दुवै हुने भएकाले कसरी व्यवस्थित गर्ने भन्ने प्रश्न समितिको छ ।
हालका धितोपत्र व्यवसायीले तोकिएको परीक्षा दिई उत्र्तीण भएको आधारमा ब्रोकर लाइसेन्स पाउने व्यवस्था रहेकामा बैंकमा सहायक कम्पनीलाई यो व्यवस्था कसरी लागू गर्ने लगायतका दर्ज प्रश्नहरु उब्जाएको छ । उप समितिले उठाएका दर्जन प्रश्नहरुको समाधानपछि मात्र बाणिज्य बैंकका सहायक कम्पनीलाइ धितोपत्र दलालको अनुमती दिन सकिने उपसमितिको ठहर छ ।
यस्तै उपसमितिले नेपाल स्टक एक्सचेन्जमा पूँजी र प्राविधिक सहयोग सहितको अन्तराष्ट्रिय रणनीतिक साझेदार भित्राउनु पर्ने, ५० करोड रुपैयाँ भन्दा धेरै ऋण लिएका कम्पनी अनिवार्य रुपमा धितोपत्र बजारमा जानु पर्ने व्यवस्था गर्न समेत सुझाएको छ ।

उपसमितिले एक वर्ष लगाएर गरेको अध्ययन प्रतिवेदनले धितोपत्र दलाल कम्पनीको कार्याक्षेत्र विस्तार गर्ने तथा संघिय संरचना अनुसार दलाल कम्पनीका कार्यालय स्थापन गर्नु आवश्यक रहेको औल्याएको छ ।
धितोपत्र दलाल कम्पनीलाई लगानी परामर्शदाता, स्टक डिलर तथा रिटेल मार्केट डिलरको काम समेत दिन अधययन प्रतिवेदनले सुझाएको छ । त्यसैगरी धितोपत्र दलालको चुक्ता पुँजी १० करोड बनाउनु पर्ने तथा सहुलियतसहीतको मर्जरको व्यवस्था गरीनु पर्ने समेत प्रतिवेदनमा उललेख गरेको छ ।
मंगलबार उपसमितिले बुझाएको प्रतिवेदन माथि आगामी शुक्रबार अर्थसमितिमा छलफल हुनेछ । अर्थसमितिले उक्त प्रतिवेदन उपर छलफल गरेर अन्तिम रुप दिएपछि कार्यान्वयनका लागि सम्बन्धीत निकायमा पठाइने अर्थ समितिले जनाएको छ।










प्रतिक्रिया