सबैभन्दा महङ्गो शेयर भएको युनिलिभरको व्यापारमा गिरावट आउँदा तेस्रो त्रैमासमा ७ करोड ६३ लाख नोक्सानमा

0
Shares

शेयर बजारमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा महङ्गो शेयर मूल्य भएको युनिलिभर नेपाल (UNL) ले आर्थिक बर्ष ०७६/०७७ को तेस्रो त्रैमासमा नोक्सानमा गएको वित्तीय विवरण निकालेको छ ।

कम्पनीको व्यापारमा गिरावटका साथै अन्य आम्दानीहरु समेत घटेपछि नोक्सानीमा पुगेको हो।

युनिलिभरले  चालु आर्थिक वर्षको माघदेखि चैतसम्म ३ महिनाको अवधिमा  ७ करोड ६३ लाख रुपैयाँ घाटा देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा युनिलिभरले २७ करोड ३६ लाख रुपैयाँ नाफा गरेको थियो ।

युनिलिभरले चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात कात्तिकदेखि पुससम्म भने २३ करोड ३५ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

तेस्रो त्रैमासअवधिमा युनिलिभरले एक अर्ब १० करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गतर्षको यसै अवधिको भन्दा ४४ करोड कम हो।

कम्पनीले आफ्ना उत्पादनहरु बिक्री गरेर एक अर्ब ७ करोड १३ लाख आम्दानी गरेको छ भने अन्य स्रोतबाट ३ करोड ४१ लाख आर्जन गरेको छ । कम्पनीको व्यापार गत आर्थिक वर्षको तुलनामा २४.५ प्रतिशतले गिरावट आएको छ ।

यस अवधिमा कम्पनीको खर्च एक अर्ब २० करोड ४५ लाख छ । कम्पनीको खर्च भने ३४ लाख घटेको छ । कोरोना महामारीका कारण जारी गरिएको लकडाउनका कारण कम्पनीको व्यापार र अन्य आम्दानी प्रभावित भएपछि घाटामा पुगेको कम्पनीको भनाई छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५९१ रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १३२७ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर आम्दानी ७३६ रुपैयाँले घटेको छ। तेस्रो त्रैमासको प्रतिशेयर आम्दानी ८२ रुपैयाँ ८४ पैसा छ ।

चुक्ता पूँजी ९ करोड २१ लाख रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब ९३ करोड ८ लाख रुपैयाँ सञ्चित छ । अघिल्ले आवको यसै अवधिमा कम्पनीको जगेडा कोषको आकार २ अर्ब ९ करोड ५२ लाख थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ दुई हजार १९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.४९ गुणा छ।