सोमबार शेयर कारोबार नहुने, मंगलबार बजार के होला ?

0
Shares

नेपाल सरकारले फागुन २० गते सोमबार शिवरात्रीको अवसरमा सार्वजनिक विदा दिएसँगै आज नेपाल स्टक एक्सचेञ्ज पनि बन्द रहेकाे छ। विगतका वर्षहरुमा झै यस वर्ष पनि सरकारले विदा दिएको हो।अब नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन २१ गते मंगलबार मात्र कारोबार हुनेछ।

आइतबार नेप्से परिसूचक ४.९५ अंकले घटेर तीन वर्ष पछाडिको बिन्दु११००.५८ मा झरेको हो।आइतबार १७४ कम्पनीका ८ लाख ७३ हजार ४९५ कित्ता शेयर किनबेच हुँदा २३ करोड ५३ लाख रुपैयाँ बराबरको करोबार भयो।

कारोबारमा आएका १० उपसूचक मध्ये जीवन बीमा र होटल समुहको सूचक मात्र सकारात्मक रह्यो भने बाँकी सबै उप सूचक ऋणात्मक देखिए। आइतबारको बजारमा भार्गव विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै ५.८४ प्रतिशतले बढ्यो भने सिन्धु विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै ८.६९ प्रतिशतले घटेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार सबैभन्दा धेरै २ करोड ६० लाख रुपैयाँ बराबरको भयो । इन्स्योरेन्सको शेयरमूल्य ३.४५ प्रतिशतले बढेर प्रतिकित्ता १०५० रुपैयाँमा कारोबार भएको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ४८.५ प्रतिशत लाभांश प्रस्ताव गरेपछि कम्पनीको शेयरमूल्य बढेको हो।

मनोबैज्ञानिक बिन्दु के हाेला ?

नेप्से परिसूचक तीन वर्ष अगाडिको बिन्दुमा झरेपछि अब के होला भन्ने काैतुहलता आम लगानीकर्तामा उत्पन्न भएको छ । चर्को बैंक ब्याजदर र हकप्रद र बोनसबाट बढोत्तरी गरिएको पूँजीवृद्धिका कारण अधिक शेयर आपूर्तिले नेप्से विगत करिब ३ वर्ष यता नै दबाबमा रहेको छ ।

पूँजी बजार सुधार र विकास र विस्तारका लाथि थुप्रै नीति आएपनि यसको पूर्ण कार्यान्वयन नहुँदा लगानीकर्ताले बजारमा लगानी गर्ने वातावरण सिर्जना हुन सकेको छैन। फेरि अर्कोतिर नीतिनिर्माता तथा नियामक निकायहरुले बेला बेलामा लागू गर्ने नियम र विभिन्न समयमा बोल्ने अभिव्यक्तिले पनि निकै संवेदनशील मानिने शेयर बजार प्रभावित हुँदै आएको छ ।

यस्तै बजार सुधारका कामहरु यथास्थितिमा रहनु, नयाँ लगानीकर्ताको प्रवेश हुन नसक्नुले पनि नेपालको शेयर बजार विगत साढे २ वर्षदेखि वियरिस (घट्दो) ट्रेन्डमा छ । नेप्से सूचक ११ सय अंककै आसपासमा घुमिरहेकाे छ । जसले लगानीकर्ता लगानी गर्न भन्दा अहिले ‘पर्ख र हेर’ कै अवस्थामा देखिएका छन् ।

अहिलेको एक हजार एक सय बिन्दुको मनोवैज्ञानिक रेखाबाट नेप्से कता लाग्छ त्यसअनुसार लगानी रणनीति तय गर्ने लगानीकर्ताको मनोभाव बुझ्न सकिन्छ। लामो समयदेखि नेप्से वियरिस टेण्ड्रमा रहनु र विस्तारै कारोबार रकम बढ्न थालेकाले अब बजार बढ्न सक्ने लगानीकर्तामा बुझाई छ । तर बढ्नका लागि केही कारण उपलब्ध हुन सकेको छैन।

धेरै पटक एक हजार एक सयको बिन्दुमा झरेर बजार फेरि माथि नै फर्किएको अवस्था छ । समय बजारमा सकारात्मक हुने खबर आउन नसक्दा यस मनोबैज्ञानिक बिन्दुको परिक्षण नै अहिले लगानीकर्ताको ‘पर्ख र हेर’ को मुख्य कारण सिर्जना भइरहेको छ ।

धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा अघि बढाउन नेप्से र ब्रोकरलाई निर्देशन दिइसकेका छन् । मार्जिन कारोबार हुने कम्पनीको सूची तयारीमा नेप्से अहिले जुटेको छ। तर नियमावलीको व्यवस्था अनुसार तीन दर्जन हाराहारीको संख्याको सूचीकृत कम्पनीको शेयरमा मात्र मार्जिन कारोबारका लागि उपयुक्त हुने देखिएको छ।

राष्ट्र बैंकले वाणिज्य बैंकलाई प्रथाकि पूँजीको २५ प्रतिशतबाट बढाएर ४० प्रतिशतसम्म शेयर कर्जा प्रवाह गर्नसक्ने र शेयर धितो कर्जाको सीमा ५० बाट बढाएर ६५ प्रतिशतसम्म पुर्याएको छ । तर त्यसको सकारात्मक असर शेयर बजारमा देखिएको छैन।

यिनै विविध कारणहरुका बीच अहिले नेप्से एक हजार एक सय बिन्दुमा रहेको छ। धेरै लगानीकर्ताहरु अब बजारले गति लिनुपर्ने बेला आएको बताउने गरेका छन् । तर संस्थागत ठूला लगानीकर्ता स्थिर बस्दा बजार बढ्न सकेको छैन।

साना लगानीकर्तामा आफुँसँग रहेको धितोपत्रको भ्यालु घटेर निराशा उत्पन्न भएको छ भने अर्कोतिर थप लगानीका लागि तरलता अभाव कायमै छ । यस्तो बेलामा संस्थागत ठूला लगानीकर्ताको प्रवेश नहुँदासम्म बजारले गति लिने अवस्था भने देखिँदैन।