बैंक तथा वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक पनि साधारणसभाबाटै निर्वाचित हुनुपर्ने

0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वतन्त्र सञ्चालक पनि साधारणसभाबाटै निर्वाचित हुनुपर्ने व्यवस्था गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ मा परिमार्जन गर्दै राष्ट्र बैंकले त्यस्तो व्यवस्था गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले बाफियाको दफा १४ को उपदफा ३ लाई संशोधन गर्दै स्वतन्त्र सञ्चालक समेत साधारणसभाले नै निर्वाचित गर्ने व्यवस्था गर्न लागेको हो ।

उपदफा ३ मा हाल‘सञ्चालक समितिले दफा १७ बमोजिम योग्यता तथा अनुभव भएका व्यक्ति मध्येबाट कम्तीमा एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गरी सोको जानकारी त्यस्तो नियुक्ति पछि बस्ने पहिलो साधारणसभामा जानकारी दिनुपर्नेछ’ भन्ने वाक्यांश उल्लेख गरिएको छ ।

त्यसलाई संशोधन गर्दै ‘साधारणसभाले दफा १७ बमोजिमको योग्यता तथा अनुभव भएका व्यक्तिमध्येबाट कम्तीमा एकजना स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्नेछ ।’ तर सोही ऐनमा स्वतन्त्र सञ्चालक साधारणसभा अगावै रिक्तभएको अवस्थामा भने सञ्चालक समितिले साधारणसभा नभएसम्मका लागि उक्त सञ्चालक नियुक्त गर्नसक्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

सोही दफाले सो संस्थाको ०.१ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएको व्यक्तिलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्न नसक्ने व्यवस्था समेत गरेको छ । नेपाल राष्ट्र बैंकले कम्पनी ऐनमा भएको व्यवस्था बमोजिम कुनै कम्पनीको सञ्चालक साधारणसभाले नै नियुक्त गर्नुपर्ने व्यवस्था गरेकोले ऐनलाई सो ऐन अनुकुल बनाउन त्यस्तो व्यवस्था गरेको उल्लेख समेत गरेको छ ।