नीति तथा कार्यक्रममा काङ्ग्रेसको टिप्पणी: ‘आश्वासनबाहेक नयाँ कुरा छैन, भ्रम र अहङ्कार मात्र उल्लेख’

0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही नभएको भनी टिप्पणी गरेका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही पनि छैन भने ।

सभापति देउवाले भने, “धेरै कुरा अघिल्लो पटकको उल्लेख छ, नयाँ कुरा छैन ।” सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेको सन्दर्भमा उनले त्यसको सट्टा नेपाल सरकार भने पनि हुन्थ्यो भने । काङ्ग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई जनताका इच्छा र आकांक्षा पूरा गराउने भन्दा पनि पार्टीको चुनावी घोषणापत्र जस्तो आएको भनी टिप्पणी गरेको छ । नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका थुप्रै विषय उल्लेख गरिए पनि सम्पन्न गर्ने आधार नदेखिएको काङ्ग्रेसको आरोप छ ।

काङ्ग्रेस नेता गगनकुमार थापाले ‘मेरो सरकार’ भन्ने सम्बोधनले राष्ट्रपतिलाई विवादमा फसाउने र संस्थाप्रतिको मान सम्मान घटाउने गरी गम्भीर त्रुटि भएको धारणा व्यक्त गरे । अघिल्लो आर्थिक वर्षमा सरकारले प्रस्तुत गरेको कार्यक्रमको समीक्षामा आत्मप्रशंसा मात्र भएको भन्दै नेता थापाले भने, “चालू आवमा जनता निराश भन्ने कही उल्लेख छैन, भ्रम अहङ्कार मात्र उल्लेख छ ।”

पूँजीगत खर्च कम भएको र राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन नसकेकोबाहेक अन्य कुनै पनि कमजोरी नभएको भनी नीतिमा उल्लेख भएको बताउँदै उहाँले यसले सही दिशामा डोराउनु सक्दैन भने ।

सङ्घीयता कार्यान्वयनका सम्बन्धमा यो वर्ष फितलो भए पनि नीतिमा कही पनि सङ्घीयताको सन्दर्भमा कमजोरी रहेको उल्लेख नभएको उदाहरण दिँदै उनले ‘पाँच वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्छु भनेको सरकारले गएको वर्ष कति रोजगारी सिजर्ना गरे’ भन्दैन भने । नीति र कार्यक्रममा नयाँ कुरा केही नभएको र पुरानो कुराको निरन्तता मात्र रहेको भन्दै नेता थापाले झुटको र आश्वासनको पुलिन्दा हो भनी टिप्पणी गरे ।