शुक्रबारदेखि काठमाडौं–रुम्जाटार–विराटनगर उडान सुरु


तीन वर्षदेखि अवरुद्ध ओखलढुङ्गा जिल्लाको विमानस्थलमा आज(शुक्रबार) देखि काठमाडौं–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आजदेखि हरेक साता काठमाडौंबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो ।

तीन वर्षदेखि रोकिएको रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिए । रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने उनको भनाइ छ ।

यसअघि गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान शुरु हुनसकेको थिएन । नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने तयारी गरिरहेको पनि निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले बताए ।

अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना रहेको प्रबन्धक पुरीको भनाइ छ । नेपाल एयरलाईन्सले सातामा एक दिन हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने भएको हो । स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर यात्रुको चाप बढेको खण्डमा थप उडान भर्ने योजना रहेको नेपाल एयरलाईन्सको तयारी छ ।

केही दिन पहिले मात्रै राष्ट्रपति, उपप्रधानमन्त्री, मुख्यमन्त्रीसहितका ओखलढुंगा आएका उच्च पदस्थ व्यक्तिहरुले रुम्जाटार विमानस्थल सञ्चालन गराउन पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।