एशियन लाईफको दुई लाख २१ हजार कित्ता लिलामी शेयरमा आवेदन खुल्यो

0
Shares

एशियन लाईफ इन्स्योरेन्सले लिलामीमा राखेको दुई लाख २१ हजार ३५९ कित्ता शेयरमा आवेदन खुलेको छ । कम्पनीले यस अघि जारी गरेका ६० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलामीमा राखेको हो ।

लिलामी शेयरमध्ये दुई लाख १८ हजार ९३९ कित्ता सर्वसाधारण र दुई हजार ४२० कित्ता संस्थापक समूहको रहेको छ।

इच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ कबुलेर संस्थापकको लागि न्यूनतम एक हजार तथा साधारणका लागि न्यूनतम एक सय कित्ताका लागि आवेदन गर्नुपर्नेछ । कम्पनीको शेयर निष्कासक तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

धितोपत्रको दोस्रो बजारमा कम्पनीको सर्वसाधारण शेयर प्रतिकित्ता ३९५ रुपैयाँमा कारोबार भएको छ। कम्पनीको संस्थापक शेयर पछिल्लो पटक २६२ रुपैयाँमा कारोबार भएको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ । हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ कायम हुनेछ ।