आँधिखोला लघुवित्तले जारी गरेको ४ लाख कित्ता आईपीओमा असार २२ गते आइतबारदेखि आवेदन खुलेको छ।
कुल निष्काशित आईपीओमध्ये ५ हजार कित्ता लघुवित्तका कर्मचारीहरु र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । ३ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई वितरण हुनेछ ।
आईपीओमा लगानीकर्ताले मेरो शेयरका साथै सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम दुई हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। तर न्यूनतम दश कित्ताका दरले शेयर बाँडफाँड गरिने हुँदा यो कम्पनीको आइपिओ ३७ हजार पाँच सय लगानीकर्ताले मात्र पाउने देखिन्छ । यसकारण दश कित्ता भन्दा बढी आवेदन नगर्दा नै उपयुक्त देखिन्छ ।
यो आइपीओमा लगानीकर्ताले असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा तथा मेरो शेयरको माध्यमबाट यो आइपीओमा आवेदन दिन सक्नेछन् ।
लघुवित्तको शेयर बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।
औसत रेटिङ्ग
आँधिखोला लघुवित्तले जारी गर्न लागेको ४ करोडको आईपीओलाई इक्रा नेपालले औसत आधारहरु जनाउने ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ। ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाइ जनाउँदछ ।
तर कम्पनीको आधारहरु सम्बन्धी राय ब्यक्त गरिएको आईपीओ ग्रेडिङ्गले कुनै धितोपत्र खरिद, बिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको जनाउँदैन ।
चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने
हाल कम्पनीको चुक्ता पूँजी ६ करोड छ । प्राथमिक शेयर बिक्री पश्चात आँधिखोला लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ। जसमा संस्थापक तर्फ ६० प्रतिशत अर्थात ६ करोड रुपैयाँ र सर्वसाधारण तर्फ ४० प्रतिशत अर्थात ४ करोड रुपैयाँ कायम हुनेछ। कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ भने आगामी तीन आवमा ३७ रुपैयाँ पुग्ने प्रक्षेपण संस्थाको छ।
आँधिखोलाले आइपीओबाट आएको रकममध्ये २ करोड रुपैयाँ पशुपालन तथा कृषि कर्जा, १ करोड रुपैयाँ खुद्रा व्यापार तथा सेवा कर्जा र १ करोड रुपैयाँ साना तथा घरेलु कर्जामा उपयोग गर्ने योजना बनाएको छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म १ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाउने कम्पनीको प्रक्षेपण छ । यस्तै, आव २०७६।७७ मा खुद नाफा ३ करोड १५ लाख रुपैयाँ र आव २०७७।७८ मा ३ करोड ९९ लाख रुपैयाँ पुर्याउने अनुमान छ ।
स्याङ्जा केन्द्रीय कार्यालय रहेको संस्थाको कार्यक्षेत्र १० वटा जिल्लामा रहेको छ। हाल १९ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ।
प्रतिक्रिया