माछापुच्छ्रे बैंकको तीन अर्बको ऋणपत्रमा आवेदन खुल्यो, ब्याजदर वार्षिक १०.२५ प्रतिशत

0
Shares

माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ। बैंकले प्रतिइकाई एक हजार रुपैयाँका दरले ३० लाख इकाई अर्थात ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले ‘१०.२५ माछापुच्छ्रे बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछ । ७ वर्षे अवधिको ऋणपत्रमा दिइने ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । 

कुल निष्काशित ३० लाख इकाई मध्ये १२ लाख इकाई सर्वसाधारणका लागि बिक्री हुने तथा बाँकी १८ लाख भने बैंकले आफ्नै तबरले बिक्री गर्नेछ । सर्वसाधारणका लागि जारी हुने १२ लाख मध्ये ५% अर्थात् ६० हजार कित्ता डिबेन्चर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। 

बैंकको ऋणपत्रमा साउन ६ गते सोमबारदेखि छिटोमा साउन ९ गते र ढिलोमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ । जसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमेटेड रहेको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्मका लागि आवेदन पाउने बैकले जनाएको छ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।

बैंकको ऋणपत्रलाई इक्रा नेपालले ‘एलए माइनस रेटिङ’ रेटिङ दिएको छ । यसले पर्याप्त कर्जा सुरक्षा रहेको जनाउँछ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा बिक्री गर्न सकिनेछ । यस्तै, बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा ऋण समेत लिन सकिन्छ ।