१५ महिनापछि मलेशिया रोजगारी पुन: खुला हुँदै, यस्ता छन सहमति

0
Shares

मलेशियामा बिहीवार सम्पन्न भएको दुईपक्षीय वार्तापछि नेपाली कामदार पठाउन देखिएको अवरोध हटेको नेपाली अधिकारीहरूले बताएका छन्।

विभिन्न प्रक्रियाका नाममा खडा गरिएका कतिपय संस्थाहरूबाट नेपाली कामदारमाथि आर्थिक शोषण भएको भन्दै उत्पन्न विवादका कारण गत १५ महिनादेखि मलेशियामा नेपाली कामदार पठाउन बन्द भएको थियो।

के भयो सहमति?

गत कार्तिक १२ मा भएको श्रम सम्झौताको कार्यान्वयन एवं त्यसयता पनि जारी रोजगारीको गतिरोध अन्त्य गर्न बिहीवार मलेशियाको पुत्राजयमा सम्पन्न दुई देशीय अधिकारीहरू सम्मिलित कार्यदलको बैठकमा सहमति जुटेपछि रोकिएको रोजगारीको ढोका खुला हुने भएको हो।

बैठकमा सहभागी नेपाली अधिकारीहरूका अनुसार कामदार मलेशिया आउनुअघि गरिने स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्था थप गर्ने र सुरक्षा क्षेत्रमा कार्यरत कामदारलाई पनि श्रम सम्झौताअनुसार नै पठाउनेजस्ता विषयमा सहमति जुटेको छ। 

तर शुरुमा यसअघि मलेशियाली मापदण्डबाट छनौट भइसकेका पुराना ३६ वटा स्वास्थ्य संस्थामार्फत् नै कामदारको स्वास्थ्य परीक्षण गरी मलेशिया पठाइने अधिकारीहरूले बताएका छन् ।

यसअघि नेपाल सरकारले सूचीकृत गरेका थप ८६ संस्थाहरूको हकमा भने मलेशियाको अनुगमन टोलीले नेपाल आएर निरीक्षण गरेपछि मात्र तिनलाई उक्त प्रणालीमा थप गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए। उक्त अनुगमन टोली नोभेम्बरमा काठमाण्डू आउने बताइएको छ।

नेपालको प्रस्ताव

नेपालले बैठकमा मलेशियाली सरकारको स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्थालाई यथाशीघ्र अनुगमन गरी बायोमेडिकल प्रक्रियामा समावेश गर्न प्रस्ताव राखेको थियो।

तर मलेशियाले एकपटक आफैँले जाँच गरेपछि मात्र मापदण्ड पुगेका योग्य संस्थालाई बायोमेडिकल प्रणालीमा आबद्ध गराउन सहमति जनाएको हो। दुईपक्षीय सहमतिका कारण नेपाल मलेशियाबीचको श्रम सम्झौताको आधिकारिक कार्यान्वयन बिहीबारदेखि शुरु भएको श्रम मन्त्रालयका सहसचिव घिमिरेले प्रतिक्रिया दिए।

बायोमेडिकल प्रणाली अनुसार उत्तीर्ण भएको स्वास्थ्य परीक्षण प्रतिवेदन प्राप्त भएपछि मात्रै अध्यागमन विभागले मलेशिया आउने कामदारको प्रवेश भिसा जारी गर्ने गर्दछ।

सुरक्षा गार्डबारे के भयो निर्णय?

कार्यदलको बैठकमा स्वास्थ्य संस्थाको छनौटका अतिरिक्त सुरक्षागार्डको आपूर्ति प्रक्रिया एवं घरेलु कामदारको आपूर्ति प्रक्रियाबारे समेत छलफल भएको बताइएको छ। नेपाली सुरक्षागार्डलाई पनि श्रम सम्झौतामा उल्लेख भएको नयाँ प्रक्रिया अनुसार पठाइने सहमति भएको बताइएको छ।

यसअघि सुरक्षागार्ड छुट्टै छनौट एवं भर्ना प्रक्रियामार्फत् पठाइने गरिएको थियो। अब सुरक्षा क्षेत्रमा काम गर्न आउनेहरू पनि शून्य लागतमा मलेशिया आउन पाउनेछन् भने श्रम सम्झौतामा उल्लेख भएका सबै सेवा सुविधाको उपभोग पनि गर्न पाउनेछन्।

घरेलु कामदारबारे केही भएन निर्णय

रोजगारीको अर्को क्षेत्र घरेलु काममा कामदार पठाउने विषयमा भने कुनै निर्णय नभएको अधिकारीहरूले बताएका छन्। घरेलु कामदारका विषयमा मलेसियाको छुट्टै कानुन नभएकाले निर्णय लिन नसकिएको बताइएको छ।

हाल करिब ३ लाख नेपाली वैधानिक रूपमा कार्यरत रहेको रोजगार गन्तव्य पुन: खुल्ने भएपछि नेपाली रोजगार व्यवसायीहरु उत्साहित हुने देखिन्छ।