शनिबार ३१ हजारले अवलोकन गरे स्टक क्लियरेन्स मेला, आइतबार सकिँदै


दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा असोज १ गतेदेखि सुरु भएको स्टक क्लियरेन्स मेलामा शनिबार मात्र ३१ हजारले अवलोकन गरेका छन् । मेलामा सस्तो मूल्यमा सामान किनमेल गर्ने ग्राहकको उल्लेख्य घुइँचो लागेको छ ।

इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भइरहेको स्टक क्लियरेन्स मेलाको चौथो दिनसम्ममा ८३ हजारले अवलोकन गरेका छन् । मेलामा तेस्रो दिनसम्म ५२ हजार बढी अवलोकनकर्ताले सहभागिता जनाएका थिए । असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा तथा शनिबार परेका कारण अवलोकनकर्ताको बाक्लो उपस्थिती भएको इभेण्ट सोलुसनले जनाएको छ ।

इभेण्ट सोलुसनले वर्षेनी आयोजना गर्दै आएको मेलाले आम उपभोक्तालाई सस्तो मूल्यमा एकै छाना मुनि हरेक प्रकारका सामान किन्ने अवसर प्रदान गर्दै आएको छ ।

चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो । ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ संचालित स्टक क्लियरेन्स मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत सञ्चालन गरिएको छ ।

मेलामा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको शेरुममा अवलोकनकर्ता तथा ग्रागहकको चाप देखिएको छ । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने भएकाले खरिदकर्ताको चाप बढेको बिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार स्पोर्टस, क्याजुअल तथा पाटसर्् सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै दशैंको फूलपातीसम्म विभिन्न मेलामा उद्यमी समुहले निरन्तर सहभागिता जनाउने छ ।

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको छ ।

‘अफरै अफरको ब्यापारिक मेला शपिगं गर्ने यहि हो बेला भन्ने नारासहित सञ्चालन भैरहेकोे मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन् ।

दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु प्रदान गरिएको छ ।

नेपाल चेम्बर अफ कमर्शले प्रवद्धन गरेको एक्स्पो आइतबारसम्म चल्नेछ ।