नेपालको शाहवंशीय इतिहासको जीवन्त साक्षीजस्तै बनेको पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोट दरबार गोरखा दरबारकै स्वरुपमा बनाउने गरी पुनःनिर्माण थालिएको छ । नेपालका बाइसे–चौबीसे राजाका पालामा कुलमण्डन शाहले राज्य गरेको यो दरबारको ऐतिहासिक एवम् सांस्कृतिक महत्वलाई दृष्टिगत गरी पुनःनिर्माण गर्न लागिएको हो ।
कास्कीकोटको ऐतिहासिक महत्व र यसको गरिमालाई उजागर गर्ने लक्ष्यका साथ गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समिति र पोखरा महानगरपालिका–२४ को विशेष सक्रियतामा पुरातत्व विभागबाट दरबार पुनःनिर्माण गर्न लागिएको समितिका अध्यक्ष दीलिपविक्रम शाहीले जानकारी दिए ।
उनका अनुसार पुरानो दरबारमा भान्छा घर, बाजा घर, गुप्तकालिकाको मूल गर्भ गृहसहितका छ वटा कोठा रहेका थिए । तीनै पुराना संरचनाकै स्वरुपमा रहने गरी कुल दुई करोड ५६ लाख २० हजार रुपैयाँको लागतमा दरबार निर्माण गर्न लागिएको उहाँले जानकारी दिए । “निर्माणाधीन दरबारलाई पुरातत्व विभागबाट गोरखा दरबारको स्वरुपमा निर्माण गर्न लागिएको छ,” उनले भने, “पुरानो स्वरुपलाई यथावत कायम गर्न यहाँ राखिने झ्याल, ढोका प्राचीन कला झल्कने किसिमका रहने छन् । झ्याल ढोकाको निर्माण भक्तपुरका कालिगढबाट गराइएको छ ।
कास्कीकोट क्षेत्र कुलमण्डन शाहले राज्य गरेको राज्य मात्र नभै यो झण्डै छ हजार वर्षअघि कश्यप ऋषिले तपस्या गरेको तपोभूमिसमेत हो । नेपालको २४० वर्षे शाहवंशीय इतिहाससँग प्रत्यक्ष जोडिएको कास्कीकोट बाइसे–चौबीसे राजाको समयमा शक्तिशाली चौबीसे राज्य मध्येको एक थियो ।
इतिहासअनुसार यही राज्यको अधीनमा यहाँका अन्य राज्य चल्थे । कास्कीकोट दरबारमा विसं १११३ वैशाख १४ मा यहाँका राजा ब्रह्म घलेलाई हत्या गरी सिंहवशका छोरा जयदेव खानले राज्य शुरु गरेका थिए । जयदेवपछि उनका धेरै पुस्ताले कास्कीकोटमा राज्य गर्दै आएका थिए । तीनै मध्येका कुलमण्डन खानले आफ्नो शासनकालमा थुप्रै राम्रा र साहसिक कामका साथै राज्यको सीमा विस्तार, दरबारको पुनःनिर्माण, औषधोपचारका लागि वैद्यको व्यवस्था तथा गुठी स्थापना आदि गरेका थिए । धेरै राम्रा काम गरेकै कारण उनले शाह उपाधि प्राप्त गरेको इतिहासमा उल्लेख छ । त्यसैकारण कुलमण्डनलाई नेपालका शाहवंशीय पहिलो राजाका रूपमा लिने गरिन्छ ।
नेपालको एकीकरणका क्रममा भने कास्कीकोटमा सिद्घिनारायण शाह राजा थिए । उनैका पालामा कास्कीकोट विशाल नेपाल राज्यमा गाभिएको थियो । कास्कीकोटको अर्को महत्वपूर्ण आकर्षण यहाँको गुप्तकालिकाको मन्दिर हो । विसं १८११ मा जमीनमुनि कालिकाको मूर्ति भेटिएको र सो मूर्तिलाई तत्कालीन राजा सिद्घिनारायण शाहले जमीनमुनि नै राखी मन्दिर बनाएर पूजाआजाको व्यवस्था गरेको पाइन्छ ।
नेपालका विभिन्न शक्ति पीठमध्ये यस मन्दिरलाई पनि महत्वका साथ हेरिन्छ । मन्दिरमा दैनिक पूजापाठका साथै भाकल गर्ने तथा पञ्चबलि दिने प्रचलन छ । नेपालका शाहवंशीय राजाको उद्गमस्थलसमेत रहेका कारण यस ठाउँलाई नेपालको जीवन्त इतिहासको साक्षी मान्न सकिने शिक्षासेवी एवम् वडा शिक्षा समितिका सदस्य वेदहरि तिमिल्सिनाले बताए ।
ऐतिहासिक एवम् धार्मिक महत्वको स्थल भएर पनि प्रचारप्रसारको अभाव एवम् राज्यको प्राथमिकतामा नपर्दा लामो समय यो क्षेत्र ओझेलमा परेको बताउँदै उनले ऐतिहासिक कास्कीकोट दरबार पुनःनिर्माणमा पुरातत्व विभागले देखाएको चासोसँगै अब भने केही हुन्छ की भन्ने आशा जगाएको उल्लेख गरे ।
निर्माण कार्यलाई सबैको साथ र सहयोगमा सम्पन्न गर्दै विनियोजीत रकमको सही सदुपयोग गर्ने तर्फ लाग्नुपर्नेमा उनको जोड छ । कास्कीकोट क्षेत्रको समग्र विकासमा जागरुकता बढेको पोखरा महानगरपालिका–२४ का का।वा।वडाध्यक्ष सन्तोष सुवेदीले बताए ।
कास्कीकोट दरबार नेपालको इतिहासको एक महत्वपूर्ण पक्ष भएको बताउँदै उनले निर्माण कार्यलाई समयमा नै सम्पन्न गराउनेतर्फ आफूहरू लाग्ने बताए । समुद्री सतहबाट एक हजार ७७८ मिटरको उचाइमा रहेको कास्कीकोटमा पहिलो शाहवंशीय राजा कुलमण्डन खान ९शाह० को दरबारका साथै तत्कालीन समयदेखि नै पूजाआजा गर्दै आइएको गुप्तकालिका मन्दिर छ ।
गाउँको बीच भागमा रहेको कश्यप ऋषिले स्नान गर्ने गरेको कश्यप ताल र यहाँ रहेको कश्यप धाम पनि यहाँका धार्मिक एवं ऐतिहासिकस्थल हुन् । चार वेद मध्येको एक यजुर्वेद लेखेको विश्वास गरीने कश्यप ऋषिले स्नान गर्ने गरेको यस तालको धार्मिक एवं सांस्कृतिकरूपमा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।
तत्कालीन समयमा यस स्थानमा कश्यप ऋषिले तपस्या गरेको कुटीको भग्नावशेष अहिले पनि रहेको छ । उक्त समयमा ऋषिले सत्सङ्ग तथा प्रवचन गर्ने गरेको धामको गह्रासमेत सुरक्षित छ ।
कास्कीकोटस्थित ऐतिहासिक दरबार पुरानै शैलीमा पुनःनिर्माण थालिनुले यसको ऐतिहासिकता जोगाउन पनि महत्वपूर्ण सहयोग पुग्ने समाजसेवी शिवराज बस्ताकोटीले बताउनुभयो । इतिहासको संरक्षण गर्दै आवश्यक पूर्वाधार तयार गर्न सके समग्र कास्कीकोटलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने उनले बताए ।
प्रतिक्रिया