ग्लोबल आइएमई लघुवित्तको शेयरमा मञ्जुश्री फाइनान्सले गर्यो पौने २ करोड लगानी


मञ्जुश्री फाइनान्सले ग्लोबल आइएमई लघुवित्तको शेयरमा १ करोड ७१ लाख २५ हजार रुपैंया लगानी गरेको छ ।

ग्लोबल आईएमई लघुवित्तले लिलाम गरेको शेयरमा मञ्जुश्री फाइनान्सले सबैभन्दा उच्च मूल्यमा २५ हजार कित्ता शेयर आवेदन गरेको छ ।

ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइतबार बोलकबोल खोलिएको छ । यस क्रममा मञ्जुश्री फाइनान्सले प्रतिकित्ता ६८५ रुपैंयाको दरमा २५ हजार कित्ता शेयर माग गरेको छ ।

प्रारम्भिक तथ्यांक अनुसार माइक्रोफाइनान्सको लिलामी शेयरको कटअफ मूल्य ६४१ रुपैंया कायम भएको छ । अहिले सबै आवेदनलाई अन्तिम प्रमाणीकरण गर्ने काम भैरहेको छ । अन्तिम नतिजा भने सोमबार मात्र सार्वजनिक हुने क्यापिटलले जनाएको छ ।

माइक्रोफाइनान्सको लिलामी शेयरमा कुल २१४ वटा आवेदन परेको थियो । प्रारम्कि तथ्यांक अनुसार १९ अबवेदकले लघुवित्तको शेयर सकारेका छन् ।

लघुवित्तले साउन २१ देखि भदौ २३ गतेसम्म बिक्रीमा ल्याएको पूँजीको शतप्रतिशतले हुने ११ लाख ४ हजार कित्ता हकप्रद शेयरमा १० लाख ४८ हजार कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी ५६ हजार ५ सय ६१ कित्ता शेयर बोलकबोल मार्फत बिक्री खुल्ला गरेको थियो । असोज २८ देखि कात्तिक ५ गतेसम्म माइक्रोफाइनान्सले शेयर लिलामीमा राखेको थियो ।

लिलामीबाट शेयर बिक्री गरेसँगै लघुवित्तको चुक्ता पूँजी २२ करोड ९ लाख रुपैंया पुगेको छ ।

आइतबार दोस्रो बजारमा ग्बोलल आइएमई लघुवित्तको शेयर प्रतिकित्ता ७६५ रुपैयाँ हाराहारीमा कारोबार भईरहेको छ । मार्केट डेप्थमा कम्पनीको शेयर खरिद बिक्री गर्ने भन्दा बिक्री गर्नेको चाप धेरै देखिन्छ ।