उद्योगी तथा पूर्व अर्थ राज्यमन्त्री रुप ज्योती ठगी मुद्दामा पक्राउ


उद्योगपति एवं पूर्व  अर्थ राज्यमन्त्री रुप ज्योती पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । प्रहरीका अनुुसार ज्योतीलाई विमानस्थलबाट बिहिबार राती करिब ९ बजे पक्राउ गरिएको जनाएको छ ।

तत्कालीन शाही शासनका बेला रुप ज्योती अर्थ राज्यमन्त्री थिए ।
काठमाडौंको बाँसवारी क्षेत्रमा हाउजिङ निर्माण गर्ने भन्दै ‘ल्याण्डमार्क डेभलपर्स प्रा.लि’ मार्फत सर्वसाधारण व्यक्तिबाट पैसा लिएर जग्गा फिर्ता नगरेको भन्दै उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

नेपालका पुराना व्यवसायी घराना ज्योति समुहका अध्यक्ष रुप ज्योतीलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । हाउजिङको घर दिन्छु भन्दै नदिएपछि उनी विरुद्ध विजेन्द्रमान श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए ।

जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री एवम् व्यवसायी रुप ज्योतिविरुद्ध गत बर्षको मङ्सिर तेस्रो साता पक्राउ आदेश जारी गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंको पत्रको आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।अदालतले पक्राउ पुर्जी जारी गरेको झण्डै १ बर्षपछि मात्र प्रहरीले रुप ज्योतीलाई पक्राउ गरेको हो
काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बिज्ञेन्द्रकृष्ण मल्लले बाँसवारीस्थित हाउजिङमा घर खरिदका लागि आफूले ल्याण्डमार्क डेभलपर्स प्रालिलाई २ करोड ७० लाख रुपैयाँ बुझाए पनि घर र जग्गा नपाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
रुप ज्योतिले २०७१ सालमा ल्याण्डमार्क डेभलपर्स प्रालिका नामबाट बाँसबारीमा निर्माण हुने हाउजिङमा मल्लका लागि ७ आना क्षेत्रफलको जग्गामा घर बनाइदिने भनेर २ करोड ७० लाख रुपैयाँ लिएका थिए । त्यतिबेला ३५ लाख रुपैयाँ प्रतिआना रहेको जग्गाको मूल्य बढेर १ करोड पुगेपछि रुप ज्योतिले उक्त जग्गा मल्ललाई बिक्री गरेका थिएनन ।
मल्लबाट पैसा लिइसकेपछि रुप ज्योतिले उल्टै क्वालिटी डेभलपर्स प्रालिका नाममा उक्त जग्गा नामसारी गरिदिए । एउटा व्यक्तिलाई बिक्री गर्ने भनेर पैसासमेत लिइसकेको जग्गा अर्कै कम्पनीलाई बिक्री गरेको भेटिएपछि अदालतले ठगी मुद्दामा अनुसन्धानका लागि हिरासतमा लिन प्रहरीलाई आदेश समेत दिएको थियो ।