समस्याग्रस्तबाट फुकुवा भए पछि वल्र्ड मर्चेण्ट बन्यो समृद्धि फाइनान्स


वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई समस्याग्रस्तबाट नेपाल राष्ट्र बैंकले फुकुवा गरे पछि नयाँ नामबाट फाइनान्सले सेवा सुरु गर्ने भएको छ । वल्र्ड मर्चेन्टले सोमबारदेखि नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले सोमबार एक कार्यक्रमका बिच समृद्धि फाइनान्सको औपचारिक सुरुवात गर्ने कार्यक्रम छ ।

केन्द्रीय बैंकले २०७० बैशाख १३ गते संस्थालाई समस्याग्रस्त घोषणा गर्दै सुधारको काम अघि सारेको थियो । समानुपातिक चुक्ता पूँजी कायम गर्न नसकेको र पूँजी कोष ऋणात्मक भएको भन्दै राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो ।

नयाँ लगानीकर्ताको प्रवेशले फाइनान्स समस्याग्रस्तबाट मुक्त भई नयाँ नामबाट सेवा सुरु गर्न लागेको हो । अहिले फाइनान्सको चुक्ता पूँजी १८ करोड रुपैंया छ । राष्ट्र बैंकले फाइनान्स कम्पनीहरुको न्युनतम चुक्ता पूँजी ८० करोड रुपैंया कायम गर्नु पर्ने व्यवस्था गरेको छ । सोही अनुसार अब समृद्धि फाइनान्सले पूँजी बिस्तार गर्नु पर्ने हुन्छ ।