लाइफ इन्स्योरेन्स कर्पोरेशनको व्यवसाय ४४ प्रतिशतले बढ्यो


लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा ४ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले २ अर्ब ९० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन शिर्षकमा ४४.५० प्रतिशतको बढोत्तरी भएको हो ।

इन्स्योरेन्सले यस अवधिमा ४ अर्ब १७ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा इन्स्योरेन्सले २ अर्ब ८९ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन शिर्षकमा ४४ प्रतिशतभन्दा धेरै वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट १ अर्ब ८ करोड ३० लाख रुपैयाँ, पुर्नबीमा कमिशन वापत ४७ लाख २३ हजार र बीमालेख धितोमा १० अर्ब ९६ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरेर २९ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सका उल्लेखित आय शिर्षकमा फराकिलो सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले २ करोड २६ लाख रुपैंया खुद नाफा कमाएको छ । बीमाङ्कीय मूल्याङकन नभएको हुनाले इन्स्योरेन्सको यो नाफा नै वास्विक हैन । बीमाङशकीय मुल्याङ्कन पश्चात इन्स्योरेन्सको वास्तविक खुद नाफा निस्किनेछ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ४ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको आम्दानीसँगै विभिन्न खर्चका शिर्षकहरुमा आएको बढोत्त।ीले खुद नाफा प्रभावित भएको हो ।

२ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ४२ करोड २२ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५७ अर्ब ८० करोड ४२ लाख रुपैयाँ र महा बिपत्ती जगेडा कोषमा २३ करोड ६२ लाख रुपैयाँ सञ्चित छ ।

७ लाख ४९ हजार ८८४ वटा बीमालेख जारी गरेको एलआईसीले पहिलो त्रैमासमा ३ हजार ३१६ वटा दाबी वापत ९२ करोड ६५ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

१ रुपैयाँ १८ पैसा पैसा प्रतिशेयर आम्दानी रहेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ८३८.६७ गूणाले बढी छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ७५ पैसा छ ।