कम मूल्यमा ठेक्का दिने व्यवस्थालाई कानुनी रुपमा हटाउन सुझाव


दीगो र सुरक्षित निर्माण गर्न न्यून रकममा ठेक्का दिने कानूनी व्यवस्था अन्त्य गर्न विज्ञहरुको सुझाव दिएका छन् । समयमै र गुणस्तरीय निर्माण हुन नसकेकोमा आक्रोश बढिरहेका बेला विज्ञहरुबाट यस्तो सुझाव आएको हो ।

स्क्याफले तीन दिनसम्म काठमाडौंमा आयोजना गरेको उज्जवल भवियका लागि उत्थानशिल निर्माण विषयक सम्मेलनमा सहभागि विज्ञहरुहरुले खुल्ला प्रतिस्पर्धाका नाममा अति न्यून रकममा ठेक्का दिने व्यवस्थालाई कानुनी रुपमा अन्त्य गर्न सुझाव दिएका हुन् ।

काम गर्नसक्ने दररेटमा प्रतिस्पर्धा गर्नुपर्ने र व्यवसायीक संस्थाहरुले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत कम्तिमा एक प्रतिशत रकम उत्थानशिल संरचना निर्माणमा लगानी गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

निर्माण क्षेत्रमा दक्ष कामदारको उत्पादन, निर्माणका प्रत्येक चरणमा सबै सरोकारवालाको सार्थक सहभागिता र नेपालका ठूला आयोजनामा नेपाली परामर्शदाता तथा निर्माण व्यवसायीलाई संलग्न गराउन सके उत्थानशिल संरचना निर्माण हुनसक्ने दाबी समेत उनीहरुले गरेका छन् ।

नेपालले २०७२ बैशाखको भूकम्पपछि सिकेका अनुभवलाई विश्व समुदायसम्म पुर्याउनु पर्नेमा सम्मेलनका सहभागिहरुको जोड दिएका थिए । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञवालीले धरहरा पुर्ननिर्माणसँगै भूकम्प संग्रहालय बनाउने तयारी भैरहेको जानकारी दिएका थिए ।

स्क्याफको २९ औं बार्षिकोत्सवका अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिकास्थित नेपाली इन्जिनियरहरुको संस्था र सिईएआईसँग स्क्याफले छुट्टा छुट्टै सम्झौता गरेको सम्मेलन व्यवस्थापक ठाकुर प्रसाद शर्माले जानकारी दिए।

नेपाल सहित १३ मुलुकका विज्ञहरुको सम्मेलनले १२ बुँदे काठमाडौं घोषणापत्र समेत जारी गरेको छ ।