किन बन्धक बन्यो शेयर बजार ? बैंकलाइ ब्रोकर लाइसेन्स दिएको भए कुरा अर्कै हुन्थ्यो...

✍️राधा कृष्ण गिरी
काठमाण्डौं।
९असार, २०७७, मंगलवार / Jun 23, 2020 12:02:pm

विश्व बजारमा कोरोनाको कहर बीच अन्य आर्थिक क्षेत्र बन्द रहेपनि पूँजीबजार निरन्तर सञ्चालनमा छ। जनताको तरल सम्पत्ति नियमित उपयोग भै रहेको छ। पूँजीबजारको मुख्य कुरा जोखिम हस्तान्तरण भैरहेको छ।

नेपाली पूँजीबजार लामो समय देखि बन्द छ। एकातिर लगानिकर्ताले आफ्नो तरल सम्पत्ति प्रयोग गर्न पाएका छैनन् भने अर्कोतिर जोखिम हस्तान्तरण गर्न र जोखिम बहन गर्न पाएका छैनन्। यसरी नेपाली पूँजीबजारको मुल मर्म मरेको छ भने लगानीकर्ता लाचार बनेका छन्। ८८ दिन भन्दा लामो समय पूँजीबजार रोकिँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत चौतर्फी प्रश्न समेत उठेको छ।

सानो देश, पूँजीबजारमा एउटै क्षेत्रको बाहुल्यता र अनेक स्वार्थ समुहको चुङ्गुलमा नेपालको पूँजीबजार पनि परेको छ । विसं २०५० साल जेष्ठ २५ गते औपचारिक रुपमा नै स्थापना भएको पूँजीबजार २८ औं वर्ष पुग्दा पनि आशातित सफलता र विकास हुन सकेको छैन। अर्को दु:खद पक्ष भनेको वास्तविक उत्पादनसँग जोडिएका कम्पनी आज पनि पूँजीबजारमा आउन इच्छुक छैनन।

अर्थमन्त्रीले धितोपत्र बोर्डको २८ औं वार्षिक उत्सव कार्यक्रममा धितोपत्र बोर्डले आफ्नो भुमिका निर्वाह गर्न नसकेको भनेर आलोचना गर्नुभयो। तुलनात्मक रुपमा दक्षिण एशियाली बजारमा समेत पूँजी परिचालन देखि प्रविधि परिचालनसम्म हाम्रो बजार बङ्लादेशको भन्दा पनि पछाडि छ।

कहाँ अड्कियो शेयर बजारको हलो ?

शेयर बजारमा गत केहि वर्ष धेरै सुधार भए पनि केही विषय टुङ्गो नपुगेको र विवादमा पर्न गई रोकिएकोले अहिले बजार बन्द गर्न परेको हो। यस्तै विवाद मध्यको एक हो बैंकलाई ब्रोकर लाइसेन्स विवाद !

लामो विवाद र रस्साकस्सी बीच बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरामा सबैतिर सकारात्मक अभिव्यक्ति आइरहेको थियो। नेपालको एकमात्र पूँजीबजारको निमायक धितोपत्र बोर्ड पनि सकारात्मक बनिरहेको अवस्था थियो र नेप्सेलार्इ आवश्यक कार्यविधी बनाई ब्रोकर लाइसेन्सको लागि निर्देशन जारी गरेको थियो। सरोकारवालाहरु आफनै किसिमले छलफलमा थिए।

धितोपत्र बोर्ड र राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई सहायक कम्पनी स्थापना गरेर ब्रोकर लाइसेन्स दिने निर्णय गरेपछि २०७६ श्रावण १७ गते १५ दिनको समय राखेर सहायक कम्पनी मार्फत ब्रोकर लाइसेन्स दिन आवेदन माग्यो र बैंकहरुले आवेदन दिन सुरु गरेका थिए। यसैबीच संसदको अर्थ समितिमा यस विषयमा छलफल भयो।

सांसदहरुले आफ्नै किसिमले राय दिए। अर्थ समिती निचोडमा पुग्न नसके पछि बैंकलाई ब्रोकर लाइसेन्स दिने नदिने विषयमा अध्ययन गर्न र सुझाव दिन गत श्रावण २९ गते नेकपा सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमिति गठन भयो र नेप्सेलाई सोझै पत्र पठाएर बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने काम स्थगित गर्न निर्देशन दियो।

यो आलेख तयार गर्दा त्यो उपसमितिको आज झण्डै १० महिना पूरा गरेको छ तर २ हप्ता गहन अध्ययन गर्दा पूरा हुने एउटा प्रतिवेदन युवा नेतृले नेतृत्व गरेको उपसमितिले दिन सक्दैन। अनेक स्वार्थको चङ्गुलमा आफैँ फसेर निर्णय गर्न सकेन । यसकै कारण आज पूँजीबजार बन्द हुन पुगेको छ।

समयमै बैंकलाइ ब्रोकर लाइसेन्स दिने कुरा टुंगोमा पुगेको भए अहिले शेयरबजार पूर्ण सुचारु भै रहन्थ्यो। अहिले निमायकहरु एक अर्कालाई दोष देखाएर बजार अनिर्णयको बन्दी हुन पुगेको छ। यसरि अरु नियामक निकायहरु लगानीकर्ता प्रति उदासिन भै जवाफदेहिता बिहिन बन्दा जनताका प्रतिनिधिले जवाफ माग्ने ठाउँ समेत छैन। संसदिय सर्वोच्चता सम्मान गर्ने हाम्रो प्रणाली संसदिय उपसमितिको अनुसन्धान र विवेकले जे पनि निर्णय र सुझाव दिन सक्छ। तर समितिले नै समय खपत गर्दा आज सिङ्गो शेयर बजार बन्धक बनेको छ।

खुल्ला बजार अर्थतन्त्रमा ब्रोकरको संख्या एक दशक भन्दा लामो समय एउटै हुनु र नयाँ प्रवेश निषेध गर्नु भनेको एकाधिकारलाई प्रशय दिनु हो। जम्मा ५० वटा ब्रोकर कम्पनीले अबको पूँजीबजार चलाउन सक्दैनन्। नयाँ प्रविधि र पूँजी भित्राउन सक्दैनन्।

विश्वका धेरै जस्तो देशमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हुन्छ। छिमेकी मुलुक भारतमा समेत यो सुविधा छ। निमायक निकायले कार्यविधि राम्रो बनाउने र अक्षरस कार्यान्वयन गर्ने हो भने बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा फरक पर्दैन।

बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने वित्तिकै सबै बिग्रन्छ भन्ने हैन। भारतमा पहिलो नम्बरमा झण्डै १६ लाख क्रियाशिल लगानीकर्ता जेरोदा ब्रोकर कम्पनीसँग आबद्ध छन् भने दोश्रो नम्बरमा १० लाख ८० हजार क्रियाशिल सदस्य सहित आइसिएफसीआई बैंकको सहायक कम्पनीसँग आबद्ध छन्।

फाल्गुन १५ गते एकैदिन ४ अर्ब ४६ करोडको कारोबार गरेर रेकर्ड राखेको नेप्सेमा कुनै ब्रोकर कम्पनीले ७५ करोड माथी कारोबार गरेका थिए भने कुनै कम्पनिले २ करोड पनि कारोबार गर्न सकेन । त्यसैले प्रतिस्पर्धात्मक बजारमा संघर्ष हुन्छ र संघर्षले विकास ल्याउँछ।

आज आश्वा प्रणाली मार्फत प्राथमिक शेयरमा ताप्लेजुङ देखि डोल्पासम्मका जनता सहभागि हुँदा यदि ब्रोकर संख्या थप्ने र बैंकलाई ब्रोकर लाइसेन्स दिने हो भने दोश्रो बजारमा समेत सहभागिता बढ्ने थियो।

जसरी आज बैंक वित्तीय संस्थामा आफैँ उपस्थित नभै आश्वा प्रणाली मार्फत घरमै बसेर शेयर भरिन्छ त्यसै गरि पूर्ण अनलाइन प्रणाली विकास गरि बैंक सङ इन्टिग्रसन गरि आफैँ घरबाट कारोबार गर्न सके जुनसुकै अवस्थामा पनि अर्थतन्त्रको ऐना पूँजीबजार बन्द हुँदैन। प्राथमिक बजारमा जस्तै दोश्रो बजारमा समेत जनताको पूँजी परिचालन गर्न सके छरिएर बसेको पूँजी एकीकृत भै राष्ट्र निर्माण र आर्थिक परिचालन सहज हुन्थ्यो।

नेपालका कूल ७५३ स्थानीय तहमध्ये ७४६ स्थानीय तहमा बैंक पुगिसकेको अवस्थामा हरेक इच्छुक नेपाली दोश्रो बजारमा कारोबार योग्य हुनेछन्। वाणिज्य बैंकहरुको ३ हजार २०० भन्दा बढी शाखा सञ्जाल प्रयोग गर्न सकिन्छ।

स्थानीयको सहभागीताले कम्पनी प्रति जनविश्वास प्राप्त गर्न सकिन्छ। राम्रो कम्पनी हुँदा स्थानीयले कति फाइदा लिन सक्छन् भन्ने उदाहरणको रुपमा चिलिमे जलविद्युत कम्पनीलाई समेत लिन सकिन्छ।

आज बैंकलाइ ब्रोकर लाइसेन्स दिएको भए १५ खर्ब भन्दा बढिको पूँजीबजार बन्धक बन्ने थिएन। बैंकका सहायक कम्पनीले पूँजी र प्रविधि दुबै प्रयोग गर्न सक्षम बन्थे। बैंकहरुले नियमित कारोबार गर्दा शेयर बजार पनि निरन्तर चलिरहेको हुन्थ्यो र जनताले आफ्नो सम्पत्तिको नियमित प्रयोग गर्न पाउने अवस्था बन्थ्यो।

शेयर बजार ३ महिना बन्द हुँदा पनि नियामक धितोपत्र बोर्ड, राष्ट्र बैकलाई देखाउने, राष्ट्र बैंक समन्वय नगरिदिने, बजार सञ्चालक नेप्से धितोपत्र बोर्डलाई देखाउने क्रम जारी छ। अर्थमन्त्रालय मौन बसेर जनताको सम्पत्ति बन्धक बनाएर मुखदर्शक बनेको छ। एकातिर नेपालको शेयर बजारको बारेमा चौतर्फी प्रश्न उठेको छ भने अर्कोतिर राज्यले करोडौं राजस्व समेत गुमाएको छ।

नेप्से २०७५ साल मंसिरमा उद्घाटन भएको अनलाइन साढे १ वर्ष नाघ्दा पूर्ण अनलाइन ल्याउन नसक्ने। अर्थ उपसमित जिम्मेवारी पूरा नगर्ने। धितोपत्र बोर्ड पूँजीबजारमा नयाँ पूँजी र प्रविधि भित्र्याउन तत्परता नदेखाउने।

सरोकारवाला सबैले पूँजीबजार विकास गर्नुपर्छ भन्ने तर समयमै आफ्नो जिम्मेवारी पूरा नगर्नुले पुरानो नेपाली उखान हलो अड्काएर गोरु चुट्ने काम भैरहेको प्रतिबिम्बित हुन्छ। सबै जिम्मेवार पक्ष आफ्नो आफ्नो ठाउँमा जिम्मेवार भैदिने हो र तोकिएको जिम्मेवारी समयमै पूरा गर्ने हो भने शेयर बजारको विकास टाढा छैन।



Share on:


Comments