काठमाडौँ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतहासिक धरहराबाट ४ करोड ८३ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरिएको छ ।
गत मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा ४ करोड ८३ लाख ६५ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए ।
उनका अनुसार यस अवधिमा २ लाख ६२ हजार ५५५ जनाले धरहराको अवलोकन गरेका छन् । जसमा १ हजार ५४९ जना विदेशी अवलोकनकर्ता रहेका छन् । हप्ताको १ दिन बुधबार बन्द हुनेबाहेक अन्य दिन दैनिक करिब १ हजार २०० ले धरहरा चढ्ने गरेका छन् ।
‘बिहान साढे १० बजेदेखि साँझ ५ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गरी धरहरा अवलोकनको व्यवस्था गर्न सकिएको छैन”, व्यवस्थापन एकाइ प्रमुख राईले भने, “बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्नसक्ने हो भने दैनिक १ हजार ५०० बढीले धरहरा चढ्ने अनुमान छ ।”
धरहरा चढ्न प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० रुपैयाँ र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई गत मङ्सिर ९ देखि धरहरा सञ्चालनमा आएको हो । त्यसअघि मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा चढ्ने शुल्क स्वीकृत गरेको थियो ।
यहाँ पार्किङ गर्दा ४ पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र २ पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको बताइएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तोकिएको छ । यस्तै, व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा ५ हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको छ ।










प्रतिक्रिया