धितोपत्र कारोबार राफसाफ 'टि प्लस टु' मा हुने

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
४श्रावण, २०७७, आईतवार / Jul 19, 2020 15:46:pm

नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा हुने शेयर कारोबार पछिको भूक्तानी प्रकृयालाई थप सरलीकृत गर्ने भएको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले हाल रहेको टि प्लस थ्री को कारोबारको राफसाफ चक्रलाई 'टि प्लस टु' मा झार्ने योजना सार्वजनिक गरेको हो ।

हाल शेयर कारोबार भएको तीन दिनपछि अर्थात चौंथो दिनमा मात्रै दोस्रो बजारमा राफसाफ हुने गरेको छ। शेयर खरिद वा बिक्री गरेको दिनलाई टि प्लस जिरो मानिन्छ। त्यसपछिको दुई दिनभित्र शेयर खरिदकर्ताको खातामा शेयर दाखिला गरिन्छ भने बिक्रीकर्ताले रकम प्राप्त गर्छ। कारोबार सम्पन्न भएको तेस्रो दिनको राफसाफ नै टि प्लस टु हो।

यसैगरी बोर्डले नेप्सेको कारोवार प्रणालीलाई धितोपत्रका लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खातासंग आवद्ध गर्ने, आओएससिओको साधारण सदस्यता प्राप्त गर्ने कार्य अगाडि बढाउने भएको छ ।

बजारसम्बन्धी आवधिक रणनीतिक योजना तयार गरी लागू गर्ने, वस्तु विनिमय बजार संचालन गर्ने कम्पनी स्थापना गर्न अनुमति दिने र वस्तु कारोबार व्यवसायीहरुलाई अनुमतिपत्र दिने, धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाउने भएको छ ।

सूचीकृत सरकारी ऋणपत्रहरुको पूर्णरुपमा अभौतिकीकरण गरी सरकारी ऋणपत्र तथा संस्थागत ऋणपत्रको दोस्रो बजार कारोवार हुने व्यवस्था मिलाउने, धितोपत्र व्यापारी स्टक डिलर लाई अनुमति दिने भएको छ ।

विशिष्टिकृत लगानी कोषहरु संचालन अनुमति दिने, धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिको व्यवस्था गर्ने भएको छ ।

साथै साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्लेटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्ने, केन्द्रीय तथ्याङ्क भण्डारण सम्बन्धी सफ्टवेयर विकास गरी तथ्याङ्कहरुको नियमित प्रशोधन तथा अभिलेख राख्ने व्यवस्था गर्ने र बोर्डको आन्तरिक कार्य प्रणालीलाई प्रविधिमैत्री बनाउन आवश्यक सफ्टवेयरहरु खरिद तथा विकास गर्ने जस्ता कार्यक्रमहरु रहेका छन् ।


Share on:


Comments