एनआरएन इन्फ्रास्टक्चरको शेयरमा चलखेल हुँदा एकैदिन प्रतिकित्ता १०६ रुपैयाँसम्म नोक्सानी

0
Shares

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमा चलखेल हुँदा लगानीकर्ताले एकैदिन प्रतिकित्ता १०६ रुपैयाँसम्म घाटा व्यहोर्नु परेको छ ।

गत भदौ १० गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको शेयर मूल्य दैनिक पोजेटिभ सर्किट (१० प्रतिशत) लाग्दै बढेको थियो ।

आइतबार पनि कम्पनीको शेयरमूल्य उच्चदरले बढाउने प्रयास गरिए पनि त्यो अन्तत: असफल भएको छ । तर, कारोबारको सुरुवाती चरणमा महङ्गो मूल्यमा शेयर किन्ने लगानीकर्ताहरुले भने एकैदिन १८ प्रतिशतसम्म नोक्सानी व्यहोर्न पुगेका छन् ।

आइतबारको प्रि-ओपनिङ सेसनमा कम्पनीको शेयर ४.४८ प्रतिशतले बढेको थियो । नियमित कारोबार सुरु हुनु भन्दा अगावै प्रि ओपनिङ सेसनमा यो कम्पनीको १ हजार १७५ कित्ता शेयर प्रतिकित्ता ५६३ रुपैयाँसम्म बिक्री भएको थियो । प्रतिकित्ता ५३७ रुपैयाँमा कारोबार खुलेको कम्पनीको शेयरमूल्य प्रि-ओपनिङमा प्रतिकित्ता २६ रुपैयाँ बढेको थियो ।

प्रि-ओपनिङमा झण्डै ५ प्रतिशत मूल्य बढेको कम्पनीको नियमित कारोबार खुलेको केहिबेरमै मूल्य प्रतिकित्ता ५९० रुपैयाँसम्म पुगेर सकारात्मक सर्किट लाग्यो । बजार खुलेको केहिबेरमा कम्पनीको मूल्य झण्डै दश प्रतिशतले बढाउन सफल भएपछि यो कम्पनीको शेयरमा चलखेलमा संलग्नहरुले बिक्रीमा जोड दिए । बिक्री चाप बढ्दै जाँदा कम्पनीको शेयर कारोबार खुलेको प्रतिकित्ता ५३७ रुपैयाँ भन्दा तल दश प्रतिशतसम्म ओरालो लागेर नेगेटिभ सर्किट लागेको छ । नेगेटिभ सर्किट मूल्य ४८४ मा शेयर बिक्री गर्नेहरुको लर्को लागेको छ ।

 

यो कम्पनीको शेयरमूल्य एकैदिन प्रतिकित्ता १०६ रुपैयाँ तलमाथि हुँदा प्रतिकित्ता ५९० रुपैयाँसम्ममा शेयर किन्नेहरुले ठूलो नोक्सानी व्योहोरेका छन् । बजारका जानकारहरुले कम्पनीको मूल्य बढाउने प्रयास असफल साबित हुँदा सोझा लगानीकतालार्ई महङो मूल्यमा शेयर भिडाएर चलखेल गर्नेहरु सक्रिय भएकाले एकैदिन ठूलो मात्राले मूल्यमा उतारचढाब आएको बताउँछन् । बजारका विश्लेषकहरुले यो कम्पनीको बजारमा कारोबार खुलेदेखि नै शेयर कर्नरिङको प्रयास भइरहेको आँकलन समेत गरेका थिए ।

 

 

तुलनात्मक रुपमा वित्तीय अवस्था कमजोर रहेको कम्पनीको शेयरमूल्य जबरजस्ती बढाउने प्रयास गरिएको थियो । ३०६ रुपैयाँमा कारोबार सुरु भएको कम्पनीको सेयर १० दिनमै बढेर ५९० रुपैयाँसम्म पुगेको थियो ।

कम्पनीले गत साउनमा ३३ लाख ९८ हजार ४६० कित्ता आइपीओ बिक्री गरेको थियो ।

हाल कम्पनीको जारी चुक्ता पूँजी १ अर्ब १३ करोड २६ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७५/७६ सम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०२.६ रुपैयाँ रहेको थियो भने प्रतिसेयर आम्दानी २.४ रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीले १ करोड ६३ लाख १९ हजार रुपैयाँ सञ्चित नाफा आर्जन गरेको थियो।

कम्पनीले १४.३ मेगावटको माथिल्लो मैलुङ खोला हाइड्रोपावर, २८.१ मेगावाटको स्वीट गंगा हाइड्रोपावर, ७३ मेगावाटको मध्य तमोर हाइड्रोपावर, २७ मेगावाटको हिमालयन पावर पार्टनर लगायतका परियोजनामा लगानी गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।