सोल्टी होटलको आधा अर्बको शेयर कसले बेच्यो ?

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एकाएक सोल्टी होटल लिमिटेडको ४७ करोड बढीको शेयर कारोबार भएको छ । नेप्सेमा होटलको ८४ लाख २५ हजार ७०६ कित्ता शेयर ५६.०४ रुपैयाँका दरले ४७ करोड २३ लाख ४५ हजार रुपैयाँ बराबरमा खरीद बिक्री भएको हो ।

कम्पनीको ‘बल्क ट्रेडिङ्ग’ भएकाले उच्च कारोबार देखिएको हो । सामान्य दिनभन्दा एकाएक करिब आधा अर्बको शेयर कारोबार भएपछि नेप्सेमा दुई घण्टा अवधिमा नै २ अर्ब बढीको शेयर खरीद बिक्री भएको छ ।

नेप्सेमा कुनैपनि कम्पनीको शेयर ‘बल्क ट्रेड’ हुनसक्ने व्यवस्था छ । यसअनुसार कुनैपनि खरीद र बिक्री गर्ने पक्षबीचको एक आपसमा समझदारी मूल्य निर्धारण गरी नेप्सेमा कारोबारका लागि जान सक्छन् । दुई पक्षबीच ‘सेल्स पर्चेज एग्रिमेन्ट’ अनुसार तय गरिएको सम्झौता उद्योग विभागबाट किन्न र बिक्री गर्ने दुबै पक्ष योग्य हो भन्ने स्वीकृति लिएर नेप्से मार्फत कारोबार गर्न सक्छन् ।

उद्योग विभाग स्रोतले नोटबजारलाई दिएको जानकारी अनुसार सोल्टी होटलको स्वामित्व रहेको होलिडे इन्स नेपाल लिमिटेडले सोल्टी इन्टरप्राइजेजलाई उक्त परिमाणको शेयर बिक्री गर्न विभागबाट अनुमति लिएको हो ।

नेप्सेमा सूचीकृत कम्पनीको हरेक कारोबार ब्रोकर मार्फत गर्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार बल्क ट्रेडिङ्ग विन्डो मार्फत कारोबार भएको हो ।

यसअनुसार नेप्सेको कारोबार विनियमावलीले गरेको व्यवस्था अनुसार पाँच करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार गराउँदा बल्क ट्रेडिङ्ग विन्डो मार्फत कारोबार गराउन सकिने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार कारोबार भएको हो ।

यसले नियमित कारोबार मूल्यलाई असर नपुर्याओस् भन्ने उदेश्य राखिन्छ । तर नेप्सेमा ठूलो संख्यामा कारोबार भएपछि कम्पनीको स्वामित्व परिवर्तनका कारण शेयरमूल्य भने समाचार तयार पार्दासम्म प्रतिकित्ता १२ रुपैयाँले बढीसकेको छ ।

एक बाट अर्कोमा स्वामित्व खरीद बिक्री भएपछि कम्पनीको शेयरमूल्य आकाशिएको छ । १८३ बाट कारोबार सुरुको सोल्टी होटलको  शेयर कारोबार समाचार तयार पार्दासम्म १९५ रुपैयाँ पुगिसकेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।