जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्राथमिक निष्काशन (आईपीओ) शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको शेयर जीआईसी (GIC) संकेतमा जम्मा भएको छ ।
केन्द्रीय निक्षेप प्रणाली ( सिडिएस एण्ड क्लियरिङ्ग) ले शुक्रबारदेखि आईपीओ प्राप्त गरेका शेयरधनीको डिम्याट खातामा शेयर जम्मा गर्न थालेको हो ।
सिडिएससीले शेयर पठाउन थालेपनि कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग दोस्रो बजारमा शेयर कारोबारका लागि सूचीकरण सम्झौता गर्नुपर्ने हुन्छ । सो काम बाँकी रहेको छ । कम्पनीको आईपिओ सूचीकरण प्रक्रियामा रहेको छ ।
नेप्सेमा शेयर सूचीकरण प्रकृया सम्पन्न भएपछि नेप्सेले कम्पनीको दोस्रो बजारमा शेयर कारोबारका लागि कारोबार संकेत (सिम्बोल) र पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज प्रदान गर्ने गर्दछ ।
यसअनुसार नै कम्पनीको शेयर सूचीकरण भएको दोस्रो दिनदेखि नेप्सेको स्पेशल प्रि ओपनिङ्ग सेसन (आइतबारदेखि बिहीबारसम्म १०ः३० देखि १०ः४५ बजेसम्म) मा कारोबार भएपछि ११ बजेपछि नियमित कारोबार मार्फत कारोबार खुल्ने गर्दछ ।
कम्पनीले प्रकाशन गरेको आह्वानपत्र अनुसार आव २०७५/७६ को वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ७६ पैसा रहेको छ ।
नेप्सेले हरेक कम्पनीका पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थलाई न्यूनतम र सो मूल्यको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ । यसअनुसार कम्पनीको आईपीओले अधिकतम ३०५ रुपैयाँ २८ पैसा ओपनिङ रेञ्ज प्राप्त गर्ने देखिन्छ ।
आव २०७६/७७ को वित्तीय विवरणको अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ २ पैसा रहेको छ । गत आवको लेखापरिक्षण नभएका कारण अघिल्लो आवमा निर्धारण भएको प्रतिशेयर नेटवर्थलाई आधार मान्ने सम्भावना छ । यसअनुसार जनरलको आईपीओ पहिलो कारोबारका लागि अधिकतम ३०५ रुपैयाँमा कारोबार खुल्ने देखिन्छ ।
असोज ११ गते देखि असोज १४ गतेसम्म सर्वसाधारणबाट आवेदन माग गरेर कम्पनीले असोज २० गते, मंगलबार आईपीओ बाँडफाँड गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कूल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेकोमा १ लाख २० हजार कित्ता कर्मचारी र १ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका इकाईलाई छुट्टाएर २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड गरेको थियो ।
इन्स्योरेन्सको आर्ईपीओ २ लाख ७३ हजार लगानीकर्ताले गोलाप्रथाबाट १० कित्ताको दरले शेयर प्राप्त गरेका थिए । उच्च आवेदनका कारण योग्य आवेदकमध्ये बाँकी ५ लाख २१ हजार ५४६ जनाले कम्पनीको आईपीओ पाउन सकेका थिएनन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया