सिभिल लघुवित्तको लिलामी शेयरमा कति कायम भयो कटअफ ?

0
Shares

सिभिल लघुवित्तले लिलाममा राखेको शेयरमा परेको शिलबन्दी बोलपत्र खुला भएको छ । दिउँसो १ बजेदेखि खुला गर्न भएको बोलपत्र खोल्ने काम भर्खरै सकिएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटलले दिएको जानकारी अनुसार लघुवित्तको साधारण शेयरको प्रारम्भिक कटअफमूल्य ६४५ र संस्थापक शेयरको कटअफमूल्य २५४ रुपैयाँ कायम भएको छ । तथ्याङ्क रुजु गर्दा अन्तिम कटअफमूल्यमा भने सामान्य फरक पर्नसक्ने क्यापिटलले जनाएको छ ।

लघुवित्तको साधारण शेयर मंगलबार प्रतिकित्ता ७४५ रुपैयाँमा कारोबार भैरहेको छ । यसअनुसार लघुवित्तको लिलामी शेयरको कटअफ मूल्य बजार मूल्यको एक सय रुपैयाँ अर्थात १३.४२ प्रतिशत तल कायम भएको हो ।

प्रारम्भिक कटअफमूल्य अनुसार लघुवित्तको साधारण शेयरका लागि प्रतिकित्ता ६४५ वा सो भन्दा बढी मूल्यमा आवेदन गरेका लगानीकर्ताले लिलामीको शेयर सकारेका छन् । संस्थापकतर्फ २५४ रुपैयाँमा शेयर आवेदन गरेका एकैजना व्यक्तिले सबै शेयर सकारेका छन् ।

क्यापिटलका अनुसार मुलुकभरबाट संस्थापक शेयरका लागि ४ वटा र साधारण शेयरका लागि २३९ वटा गरी कूल ३४३ वटा शिलबन्दी बोलपत्रको आवेदन परेका थियो । लिलामी शेयर खरीदका लागि ८ संस्थाले पनि आवेदन दिएका थिए ।

लघुवित्तका विद्यमान संस्थापक शेयरधनी सुरज अधिकारीले सबै (११ हजार ६०८ कित्ता) शेयरका लागि २५४ रुपैयाँका दरले आवेदन गर्दा संस्थापक शेयरका लागि आवेदन गरेका अन्य तीन आवेदकले शेयर पाउन सकेनन् । साधारण शेयरतर्फ पाँच संस्थागत लगानीकर्ताले शेयर हात पारेका छन् । तीन संस्थागत लगानीकर्ताको बोलकबोल रकम कटअफभन्दा तल रहेकाले शेयर पाउन सकेनन् ।

लघुवित्तले कम्पनीले संस्थापक समूहको ११ हजार ६०८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता गरी कूल ८९ लाख ४५० कित्ता शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो ।

लघुवित्तले गत साउन २५ गतेदेखि भाद्र २९ गतेसम्म एक बराबर एक अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद निष्काशन गरेको थियो । सोही समयमा अवितरित शेयर अहिले लिलामीबाट बिक्री गरिएको हो ।

हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ छ । हकप्रदपछि २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।