केहिदिन यता सामान्य उतारचढाब देखिएको शेयर बजार बुधबार करिब साढे तीन अंकले बढेर बन्द भएको छ । अधिकांस समूहको सूचक सकारात्मक रहेको बजारमा होटल समूहमा उच्च आकर्षण देखिएको छ ।
बजार खुलेदेखि दिनभरजसो नकारात्मक रहेको नेप्से बन्द हुने केहि समय अघि मात्र सकारात्मक भएको हो । यसदिन नेप्से सूचक ३.४७ अंकले बढेर ११६९.५० विन्दुमा पुगेको छ । १७६ कम्पनीको कारोबार भएको बजारमा ३७ करोड २९ लाख बराबरको शेयर किनबेच भयो । जुन अघिल्लो दिनको तुलनामा ७ करोड कम हो ।
कुल १२ समूहको कारोबार भएको बजारमा यसदिन ८ समूहको सूचक उकालो लागेका छन भने चार समूहका ओरालो लागे । सबैभन्दा धेरै होटल समूहको सूचक ९.२२ प्रतिशत अर्थात १६८.२२ अंकले उकालो लागेको छ । वीत्त, बीमा र अन्य समूहका सूचक नकारात्मक रहे ।
नेपाल भ्रमण बर्ष २०२० सुरु भएकै दिनमा लगानीकर्ताहरुले होटलका शेयरमा लगानी बढाएका छन् । होटलका शेयरको माग बढ्दा मूल्य बढेको छ भने कारोबार पनि बढेको छ । यसदिन तारागाँउ रेजन्शी, ओरियन्टल होटल, सोल्टी होटलको शेयर मूल्य झण्डै दश प्रतिशतले बढेको छ । यी तीनै कम्पनीको शेयर मूल्यसँगै कारोबार पनि बढेको छ । यसबाट लगानीकर्ताले आफ्नो लगानीको फोर्टफोलियो बदल्ने क्रममा होटलका शेयर छनौट गरेको प्रष्ट देखिएको छ ।
यसदिन उच्च कारोबार कम्पनीको अग्रपक्तिमा पनि होटल समूहकै ओरियन्टल होटल परेको छ । जसको २ करोड ९५ लाख बराबरको शेयर किनबेच भयो । उच्च कारोबार हुने दश कम्पनीको सूचीमा तेस्रो नम्बरमा तारागाँउ रेजन्शी र चौथो नम्बरमा सोल्टी होटल परेका छन् । यीनीहरुको झण्डै २ करोड बराबरको शेयर किनबेच भएको छ । उच्च शेयर कारोबार हुनेमा सोल्टी होटल पहिलो र तारागाँउ रेजन्शी दोस्रो नम्बरमा देखा परेका छन् ।
आजको बजारमा सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर मूल्य पाँच प्रतिशत बढीले ओरालो लागेको छ । युनियन हाइड्रो, नेशनल लाइफ तथा एभरेष्ट इन्स्योरेन्स लगायतको शेयरमूल्य घटेको छ ।
प्रतिक्रिया