कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ । यही अवस्थालाई मध्यनजर गर्दै जोखिम न्युनीकरणका लागि सरकारले लक डाउनको घोषणा गरेको अवस्थामा कतिपयले सहजै बैंक तथा वित्तीय संस्थासम्मको पहुँच पाउन सकिरहेका छैनन् ।
लकडाउनका बेला अन्य कारोबारहरु कम देखिए पनि नजिकको एटीएम बुथमा गएर पैसा निकाल्नेको संख्या उत्तिकै छ । तर, कतिपय कार्डवाहकहरु भने कार्डको मिति सकिएर पैसा निकाल्न नसक्ने अवस्थामा पुगेका छन् । जसका कारण तत्काल अत्यावश्यकीय सेवामा गरिनु पर्ने खर्च गर्न असहज परिस्थिती उत्पन्न भएको छ ।
तत्काल कार्ड बनाउन बैंक पुग्ने अवस्था पनि उनीहरुसँग छैन । नोटबजारलाई केही कार्डवाहकहरुले कार्डको म्याद समाप्त भएकाले रकम झिक्न समस्या भएको गुनासो गरेका छन् । ‘सोचेकोभन्दा बढी खर्च हुने अवस्था आयो, अहिले एटीएम जाँदा कार्डको म्याद सकिएकाले पैसा झिक्न पाइएन,’ उनले भने ‘यो समस्या धेरैलाई नपरेको होला, तर समस्या कसरी समाधान होला ?’
यो अवस्थालाई उजार गर्दै नोटबजारले बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुलाई घच्घच्याएको छ ।
नेपाल बैंकर एशोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनप्रसाद दाहाललाई नोटबजारले एटीएम कार्डको म्याद सकिएका सेवाग्राहीलाई व्यवस्थापन गर्न संघले के गर्ने योजना बनाएको छ ? भनेर सोधेको थियो ।
जवाफमा दाहालले तत्काल त्यस्तो समस्याको जानकारी नआएको बताए । तर सबै बैंकबाट जारी भएका कार्डहरुमा ठुलो संख्यामा म्याद सकिएको हुन सक्ने भन्दै उनले कोही पनि सेवाग्राहीले लकडाउनको समयमा पैसा झिक्न अवरोध हुने अवस्था आउन नदिने बताए ।
यसका लागि संघले सबै सदस्य बैंकहरुलाई एक पटक सामान्य छलफल गरी निश्चित समयका लागि म्याद सकिएका सबै कार्डहरु स्वचालित रुपमा नवीकरण गराउन परिपत्र गर्ने बताए । यस सम्बन्धमा शनिबार वा ढिलोमा आइतबारसम्ममा निर्णय गरिसक्ने उनले बताए ।
‘समस्या एक जनालाई मात्र हैन, सबैलाई परेको छ । यो अवस्थामा बैंकको कारणले नै रकम झिक्न पाइएन भन्ने अवस्था आउन दिँदैनौं । छिटोभन्दा छिटो स्वचालित रुपमा कार्ड नबीकरणको व्यवस्था कार्यान्वायनमा आउँछ’ दाहालले भने ।
उता डेभलपमेण्ट बैंकर्स संघले पनि कार्डको मिति सकिए लगत्तै स्वचालित रुपमा असार मसान्त सम्मका लागि स्वचालित रुपमा कार्ड नबीकरण गराउने भएको छ ।
नोटबजारसँगको कुराकानीमा संघका अध्यक्ष एवं गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सदस्य बैंकहरुलाई तत्काल स्वचालित रुपमा असार मसान्तसम्मका लागि कार्ड नवीकरण गराउने व्यवस्था मिलाउन संघले सर्कुलर गर्ने बताए ।
‘सेवाग्राहीमा पर्न सक्ने असर मध्येमा यो पनि एउटा विषय हो भन्नेमा हामी निश्चित भएका छौं । गरिमा विकास बैंकले तत्काल स्वचालित कार्ड नबीकरण प्रणाली सुरु गर्नेछ भने संघका सदस्य संस्थाले पनि क्रमिक रुपमा प्रकृया अघि बढाउने छन्’ ढकालले भने ।
फाइनान्सहरुको छाता संगठन वित्त कम्पनी संघले पनि सेवाग्राहीलाई कुनै किसिमको समस्या पर्न नदिने जनाएको छ ।
नोटबजारसँगको कुराकानीमा संघका अध्यक्ष तथा गुडविल फाइनान्सका अध्यक्ष सरोजकाजी तुलाधरले भने, ‘यो समस्याको बेला संघका सदस्य तथा वित्तीय संस्थाहरुले छलफल गर्ने हैन की तत्काल अत्यावश्यक सेवा सुचारु गर्ने विषय कार्यान्वायनमा ल्याउने हो । फाइनान्सहरुबाट असार मसान्तसम्मका लागि कार्ड नबीकरण गराउने काम तत्काल सुरु हुन्छ । गुडविल फाइनान्सको हकमा सेवाग्राहीको घरसम्म पुगेर पनि सेवा दिन तत्पर छौं ।’
अहिले धेरै जसोले बैंक खाता सञ्चालन गरे पनि कतिपयले इन्टरनेट बैंकिङ सुविधा नलिएको अवस्था छ । यो आँकडालाई फराकिलो दायरामा हेर्दा एटीएम तथा क्रेडिट कार्डका प्रयोगकर्ताको संख्या धेरै छ । नेपाल राष्ट्र बैंकका सूचना अधिकारी गूणाकर भट्टले नोटबजारलाई दिएको जानकारी अनुसार गत माघ मसान्तसम्मा सबै बैंक तथा वित्तीय संस्थाबाट जारी भएका डेविट कार्डको संख्या ७२ लाख छ भने क्रेडिट कार्डको संख्या १ लाख ४७ हजार छ ।
सबै बैंक तथा वित्तीय संस्थाहरुले अन्तर बैंक एटीएम प्रयोगमा कुनै शुल्क नलिने निर्णय यस अघि नै कार्यान्वायनमा ल्याइसकेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकले कुनै पनि किसिमको शुल्क नलिइ म्याद सकिएका कार्डहरु पुरानो कार्डबाट नै चलाउन मिल्ने गरी नबीकरण गराउन भनि सकेको छ । यद्यपी उसले टेलिफोन तथा इमेलबाट कार्ड नबीकरणको आग्रह भएमा तत्काल नबीकरण गराउन भनेको छ ।
बैंकहरुले भने स्वचालित रुपमा कार्ड नबीकरण गराउने अभियान सुरु गर्ने भन्दै गर्दा सेवाग्राहीले कम्तीमा आफनो कार्ड लिएको बैंकमा एक पटक सम्पर्क गरेर कार्ड नबीकरणका लागि आग्रह गर्दा राम्रो हुन्छ ।












प्रतिक्रिया